-भक्तराज रसाइली 
काठमाण्डौ । केही वर्षअघिसम्म मनिक महर्जनको परिचय मोटरसाइकल मेकानिकको रुपमा सीमित थियो । समयक्रमसँगै उनी अहिले मोटरसाइकल वर्कसपको मालिक मात्र होइन्, दर्जनौ कम्पनीको सेयर मालिक समेत बनेका छन्। 

दिनभर मोटरसाइकलका पार्टसहरुसँग खेल्न खप्पीस उनी सेयरबजारका अन्तरकुन्तर पनि उत्तिकै केलाइरहेका हुन्छन् । आफ्ना कम्पनीका सवल र दुर्वल पक्षमा समेत उत्तिकै खेलिरहेका हुन्छन् । 

जसरी उनले बनाएका मोटरसाइकलले राम्रो गति लिन्छन्, उसैगरी उनले गरेको लगानीले पनि राम्रो गति लिएको विगतले देखाएको छ । जसको फलस्वरुप सेयर बजारमा छिरेको एकदशकको समयमा उनी करोडपति बनिसकेका छन् । 

सेयर बजार प्रवेशको किस्सा भने अलिक भिन्न रहेको छ । वर्कशपकै सेवाग्राही सुदन नापितले ‘बाहिर अरु पनि ठाउँमा लगानी गर्नुपर्ने’ सल्लाह दिएकै कारण सेयर लगानीमा छिरेका मनिकले ०६३ सालताका जग्गाको मन्दी चलिरहेकै बखत सेयर बजारमा जग्गा बेचेर लगानी थालेका थिए । 

ग्लोबल बैंकको आईपीओबाट सुरुवात गरेका उनले त्यतिखेर उनका नाममा परेको ३० कित्ता सेयर ३-४ महिनापछि  हजार प्रतिकित्ताका दरले बेचेर नाफा कमाउँदै ६८ सालबाट दोस्रो बजारमा पाइला टेकेको सुनाए । एभरेष्ट बैंकको २ सय कित्ता सेयर १५ सय प्रतिकित्तामा किनेको र अलिक पछि पुनः नाफा खाई बेचेको महर्जनको दाबी छ । 

उनको लगानी रणनीति केही फरक छ । उनी नेप्से इण्डेक्स बढेको बेला बेच्ने र पुनः घटेका बेला सेयर किन्ने गर्दछन् । उनले नेप्से इण्डेक्स १८०० माथि हुँदा बेचेको र पुनः केही दिनअघि घटेर न्यून विन्दूमा झरेको बेला किनेको बताए । ‘मैले काम गरेर कमाएको बचत पैसा मात्र सेयरमा लगानी गरेको छु ।’उनले भने–‘ऋण लिएर सेयरमा लगानी गरे त डुबिहालिन्छ नि ।’ 

सेवाग्राही सुदन नापितले महर्जनसँग ५ लाख ऋण लगेबापत १८ प्रतिशत ब्याज  बुझाउने शर्तानुसार लैजाँदा उनलाई पनि सेयर मोह बढेको खुलासा गरे । सुदनले पनि इन्टरनेट कम्पनीको जागिर छाडेर सेयरबाट नै प्रशस्त कमाएको देखेर उनकै सल्लाहबमोजिम आज पनि सेयर खरिदबिक्री गर्ने गरेको महर्जनको भनाइ छ । 

वर्कशप र सेयर लगानीको आम्दानीबाट नै उनले साढे ६ तले घर पनि ठड्याएको बताए । घरभाडा स्वरुप मासिक ८० हजार पनि बुझ्ने उनले रानीबारीमा ३ आना जग्गा किनेर फेरि साढे ३ तल्ले घरको निर्माण सकिनै लागेको दाबी गरे । करिब १२ घण्टा काममा खटिने उनले मिहिनेत र सीप भए करोडपति बन्न सकिने बिजशालालाई बताए ।

सेयर बजारमा सफलताको मन्त्रको बिषयमा सोध्दा उनले भने–‘घटबढ भइरहन्छ, समय हेरेर धैर्य गर्न सके सेयरबाट मालामाल हुन  सकिन्छ ।’ऋण लिएर भने सेयरमा लगानी गर्न नहुने उनले दोहोर्याइरहे ।

उनलाई बाहिरबाट हेर्दा नपत्याउने देखिए पनि सामान्य, मृदुभाषी देखिए । छोटो समयमै गरेको प्रगतिमा उनको रत्तिभर पनि घमण्डपन देखिएन । 

वर्कसपमा विजिनेशमा पनि सफल
जन्म निम्न वर्गमा भए पनि उनले वर्कशप र सेयरकै कमाइले आफ्नो जीवनमा आमूल परिवर्तन ल्याए । काठमाण्डौं २२ टेबहालका ४२ वर्षीय मनिकको हाल काठमाण्डौ २० भीमस्थान, परोपकारमा भीमसेन मोटरसाइकल वर्कशपक संचालनमा रहेको छ । उनी सो वर्कसपमा अहोरात्र खटिरहेका हुन्छन् । उनको श्रम कुन हदसम्म छ भन्ने कुरा उनका हातभरिका बग्रेल्ती ठेला, मोबिलले लतपतिएको ज्यानले प्रष्ट्याउँछ । यिनै मेहेनती महर्जनले पसिनाको कमाई बचत गरेर सेयरमा लगानी गरे र छोटो समयमै करोडपति बन्ने शौभाग्य प्राप्त गरे ।  

महर्जनको औपचारिक शिक्षा कक्षा ९ सम्मको मात्र रहेको छ । २०४९ सालतिर स्कूल छाडेका उनले दाइको साथीको मोटरसाइकल वर्कशपमा काम सिक्न अवसर पाए । सोह्रखुट्टेस्थित वर्कशपमा महिनाको ३ सय तलब बुझ्ने उनले त्यहाँ ८ वर्ष काम गरे । हुन त उनले जीवनमा बालुवा चाल्ने, इँटा बोक्ने काम पनि गरेका छन् ।

सोही वर्कशपका नियमित ग्राहक बिक्रम महर्जनको प्रेरणाबाट मनिकमा आफ्नै वर्कसप स्थापनाको जाँगर पलायो । फलस्वरुप हालको भीमस्थान परोपकारमा ०५७ सालतिरबाट वर्कशप खोली अहिले पनि त्यसलाई उनले निरन्तरता दिइरहेका छन् । 

२०६० सालमा सीटीइभीटीबाट जाँच दिएर मेकानिकको लेभल २ पास उनलाई जापानबाट पनि कामको अफर आएको थियो । सो बेला मासिक ८० हजार तलबसहित अफर दिंदा समेत विदेशतर्फ उनको मन गएन ।

सुरु सुरुमा आफ्नो वर्कशपको कमाईले घरभाडा तिर्न र चियाखाजा खर्च मात्र धानिएको, तर बिस्तारै कमाई बढ्दै जाँदा केही सहज अवस्था भएको उनले सुनाए । मोटरसाइकल र स्कुटरका सम्पूर्ण मर्मतसम्भार गर्ने उनले अहिले २ जना स्टाफलाई रोजगारी दिदै महिनाको एक लाख कमाउने गरेको बताए ।

जिन्दगीको सबैभन्दा दुःखको क्षण ६७ सालमा उनका बुवा प्रेमनारायण महर्जनले प्राणपखेरु छाड्दा रहेको उनको भोगाइ छ । आफ्नै कमाइले ०६२ सालताका पुख्र्यौली जग्गामा घर बनाएर बिहेको दिन नै उनले सबैभन्दा खुशीको क्षण सम्झिए ।