काठमाण्डौ । पूँजीबजारमा लगानी गर्न पछिल्लो समय सर्वसाधारण मरिहत्ते गरेर लागेका देखिएको छ । घण्टौ लाइनमा बसेर समेत कमजोरै देखिएको संस्थाहरुको सेयरमा समेत लगानी गर्नेहरुको चाहना पछिल्लो समय अचाक्ली बढेको देखिएको छ । पछिल्लो प्रमाणको रुपमा दिव्यश्वरी हाइड्रोपावरले खुलाएको आइपीओ आवेदनमा देखिएको औधी मागलाई लिन सकिन्छ । यो कम्पनीले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर(आइपीओ)मा पहिलो दिन नै माग भन्दा करिब ५ गुणा बढी आवेदन परेको छ । 

दिव्यश्वरी हाइड्रोपावर कम्पनीले असार १३(सोमबार)देखि ३ करोड ९६ लाख बराबरको ३ लाख ९६ हजार कित्ता सेयर आइपीओ गरेको हो । सेयरमा आवेदन खुलेको पहिलो दिन नै ६ हजार भन्दा बढीले आवेदन दिएका र १८ करोड २२ लाख बराबरको आवेदन परिसकेको बिक्री प्रबन्धक एस(ब्ऋभ्) क्यापिटल लिमीटेडका अधिकारीहरुले बताएका छन् । 

पहिलो चरणमा आइपीओ भर्ने अन्तिम मिति असार १६ गते राखिएको छ र अधिकतम मिति चाहि असार २७ गते तोकिएको छ । पहिलो दिन नै माग भन्दा ५ गुणाले बढी आइपीओमा आवेदन परेपछि पूरा मितिभरि आवेदकहरुको संख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ । 

इच्छुकहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको सेयरका लागि आवेदन दिनसक्ने बताइएको छ । 

यो कम्पनीले २ प्रतिशत अर्थात ७ हजार ९ सय २० कित्ता सेयर आफ्ना कर्मचारीका लागि, ५ प्रतिशत अर्थात १९ हजार ८ सय कित्ता सेयर सामूहिक लगानी कोष संचालन गरेका कम्पनीहरुका लागि छुट्याएको छ । त्यस्ता कम्पनीहरुमा नबील ब्यालेन्स फण्ड, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड, एनआइबिएल समृद्धि फण्ड, लक्ष्मी भ्यालु फण्ड, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम र ग्लोबल आइएमई समृद्धि फण्ड रहेका छन् । बाँकी ३ लाख ६८ हजार २ सय ८० कित्ता सेयर चाहि सर्वसाधारणहरुले पाउने छन् । 

आइपीओ जारीपछि कम्पनीको हालको १९ करोड ८० लाखको चुक्तापूँजी बढेर २६ करोड ४० लाख पुग्नेछ । यो जलविद्युत कम्पनीको अधिकृत पूँजी  ५६ करोड रुपैयाँ रहेको छ । 

आइपीओपछि यो कम्पनीमा प्रोमोटर, प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणको सेयर स्वामित्व रेसियो क्रमशः ७५, १० र १५ प्रतिशत कायम हुनेछ । 

यो हाइड्रोपावरको आइपीओलाई नेपालको एकमात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले ग्रेड ४ को रेटिंग प्रदान गरेको छ, जुन रेटिङ खासै राम्रो होइन । 

दिव्यश्वरी हाइड्रोपावरले २०७२ फागुन ३० गते आयोजना प्रभावित संखुवासभाको धुपु, स्याँबू, वाना गाविस र चैनपुर नगरपालिका वडानम्बर ८, ९ र ११ का बासिन्दाका लागि १ सय अंकित मूल्यका २ लाख ६४ हजार साधारण सेयर यसअघि नै निश्कासन गरिसकेको छ । 

यो आयोजना संखुवासभाको धुपु गाविसमा अवस्थित छ । ४ मेगावाट विद्युत उत्पादन गर्नसक्ने क्षमता रहेको यो आयोजनाले आगामी आर्थिक वर्षको सुरुवातदेखि नै बिजुली उत्पादनको काम थाल्ने बताइएको छ । 

कहाँ–कहाँबाट भर्ने ?
दिव्यश्वरी हाइड्रोको आइपीओका लागि आवेदन दिने समय अझै बाँकी रहेकोले तोकिएको ठाउँमा गएर आवेदन भर्न सकिनेछ । काठमाण्डौको लालकोलोनीमार्ग, लालदरबारमा रहेको एस क्यापिटल लिमीटेडको कार्यालय(फोन :०१–४४२६१६१), एस डेभलपमेन्ट बैंक लिमीटेडको राजधानी र जिल्लाका सबै शाखा(फोन : ०१–४४४१११०), इटहरी र विराटनगरमा रहेको त्रिवेणी विकास बैंक लिमीटेडका शाखा(०२५–५८७२१२)बाट समेत आवेदन दिन सकिने बताइएको छ । यसैगरी, झापाको विर्तामोडस्थित एक्सल डेभलपमेन्ट बैंकको शाखा(०२३–५४३७१४), रुपन्देहीको सिद्धार्थनगरमा अवस्थित एभरेष्ट फाइनान्स लिमीटेड(०७१–५२६५०७), कास्कीको महेन्द्रपुलमा अवस्थित गरिमा विकास बैंकको शाखा(०६१–५३३६९४)बाट समेत आवेदन दिन सकिनेछ । यसैगरी, बाँकेको नेपालगञ्ज(०८१–५२८०७१) र कैलालीको धनगढी(०९१–५२६९९०)मा अवस्थित मालिका विकास बैंकको शाखा, महाकाली विकास बैंकको कञ्चनपुुर, कैलाली(मो. ९८४८७२५३९२)मा रहेको शाखाबाट समेत आइपीओका लागि आवेदन दिन सकिने छ ।