file photo
-टेकराज बञ्जारा
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ति गरेलगत्तै सेयर बजारमा गरिएको लगानीलाई ‘अनुत्पादक क्षेत्रको लगानी’ भनी विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेका अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्तालाई सेयरमा लगानी नगर्न आग्रह गरेका छन् ।
आइतबार विराटनगरका उद्योगी व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
डा. खतिवडाको सेयर बजारलाई अनुत्पादक क्षेत्र भनी गरेको टिप्पणीले बजार चौपट भइरहेको बेला उनले पुनः सेयरमा लगानी नगर्न गरेको आग्रहले बजारमा नकारात्मक प्रभाव पार्ने अवस्था आउने निश्चितप्राय छ ।
उनले माग र आपूर्तिको सिद्धान्त व्याख्या गर्दै बजारमा सेयरको अत्यधिक आपूर्ति र त्यसको माग कम भएकोले बजारको भाउ घटेको प्रष्टीकरण दिएका छन् । उनले अन्य वस्तुुहरुको आपूर्ति बढी हुँदा मूल्य घट्दा हुने, तर सेयरको आपूर्ति बढी भएकै कारण मूल्य घट्दा केको रोइलो ? भन्ने प्रश्न समेत गरेका थिए ।
‘सेयर कस्तो चिज हो मूल्य घट्नै नहुने ?’ प्रश्न गर्दै उनले भनेका छन्–‘बजारमा चिनीको आपूर्ति बढी हुँदा भाउ घट्छ । यस्तै, सेयरको पनि बढी आपूर्ति भयो भाउ घट्यो, यसमा कराउनुपर्ने कारण नै देख्दिँन म । आपूर्ति बढी हुँदा मूल्य घट्ने अर्थशास्त्रको सामान्य सिद्धान्त हैन र ?’
डा. खतिवडाले आउँदा दिनमा बजार अझै घट्नसक्ने संकेत समेत गरे । भने ः बजारमा थप सेयरहरु आउँदैछन् । ‘बैंक तथा बित्तीय संस्थाले पूँजी बढाएका कारण हकप्रदको बाढी नै छ । जलविद्युत कम्पनीहरुले धमाधम आइपीओ ल्याउँदैछन् । त्यसै त बढी आपूर्ति भएको बजारमा यसले थप नकारात्मक असर पार्न सक्छ ।’ उनले भने ।
उनले सो कार्यक्रममा घट्दो सेयर बजारलाई बढाउनैका लागि सरकारले कुनै पनि काम नगर्ने प्रष्ट पारे । ‘उसो भए त आपूर्ति बढी हुँदा घट्ने अन्य वस्तुको भाउ पनि बढाउनुपर्ने ?’ उनले पुनः प्रश्न गर्दै भने–‘बजारलाई सरकारले आफ्नै लयमा हिँड्न दिन्छ, हस्तक्षेपको आशा नगर्नुहोला, तपाईहरुको रोइलो हामी सुन्दैनौ ।’
उनले विगतमा बजारमा चलखेल गरी नेप्से परिसूचक अस्वभाविक उचाईमा पुर्याउने काम भएको दाबी समेत गरे । डा. खतिवडाले सेयर बजारमा दीर्घकालीन सोच राखेर लगानी गर्नेहरुले राम्रै कमाइरहेका उल्लेख गर्दै कम्पनीको बित्तीय अवस्था र अन्य स्वस्थता मापक सूचक हेरेर मात्र लगानी गर्नुपर्नेमा जोड दिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago