काठमाण्डौ । दोश्रो बजारमा ९०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको कालिञ्चोक दर्शन लिमीटेडले सेयरधनीलाई निराश बनाएको छ । 

यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांशबिना नै आफ्नो नवौं वार्षिक साधारणसभा आह्वान गरेको हो । 

पुस २६ गते आह्वान गरिएको साधारणसभा काठमाण्डौको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । 

साधारणसभामा संस्थापक र सर्वसाधारण सेयरधनीको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन हुनेछ । 

कम्पनीले आफ्नो एजीएममा थप लगानी जुटाउनका लागि हकप्रदको विषय समेत छलफलमा ल्याउनेछ । तर, हकप्रद वा थप पूँजी निर्माणको अन्य कुनै विकल्पको विषयमा निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभामा पेश गरिनेछ । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणमाथि छलफल भई पारित गर्ने कार्यक्रम रहेको छ । 

लाभांशबिना आह्वान गरिएको एजीएमका लागि पुस १२ गते बुक क्लोज गरिनेछ । यसको अर्थ यो कम्पनीको एजीएममा सहभागी हुन चाहनेले पुस ११ गतेसम्म सेयरधनी भइसक्नुपर्नेछ ।