काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा बिहीबार साँझ सार्वजनिक गरेको छ ।
राष्ट्र बैङ्कले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा त्यति ठूला परिवर्तनहरू भने गर्ने गरेको छैन।
मौद्रिक नीतिमा राष्ट्र बैङ्कले सेयर धितो कर्जामा ४/१२ को क्याप लगाएसँगै त्यसको प्रत्यक्ष प्रभाव पुँजी बजारमा परेको देखिन्छ। बजारका जानकारहरूले विगत केही महिनादेखि बजारमा पहिरो आउनुका साथै बजार अस्थिर हुनुको प्रमुख कारण नै उक्त क्याप रहेको बताउँदै आएका छन्।
बजारका लगानीकर्ता, लगानीकर्ता सङ्घका नेता साथै अगुवाहरू राष्ट्र बैङ्कले उक्त क्याप हटाउनुपर्ने भनेर आन्दोलित समेत भएका थिए। त्यसका साथै अगुवाहरूले सक्रिय रूपमा गभर्नर साथै अर्थमन्त्रीलाई भेटी क्याप हटाउन सुझाव समेत दिएका थिए। तर आज भएको समीक्षामा सो विषय सम्बोधित हुन सकेन ।
नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकार भट्टले समीक्षाका आधारमा जारी हुने सर्कुलरमा केही संशोधन हुने सङ्केत भने दिएका छन्।
समीक्षामा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गरिने उल्लेख छ । यसको अर्थ राष्ट्रबैंक सेयर धितो कर्जामा अझै कडाई गर्न चाहन्छ भन्ने हो ।
राष्ट्रबैंकले सार्वजनिक गरेको समीक्षामा पूँजीबजारका लागि सुखद विषय नआएकोले लगानीकर्ताका नेता खिन्न भएका छन् । नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोख्रेलले मौद्रिक नीतिको समीक्षा कागलाई बेल पाक्यो हर्ष न बिस्मातको संज्ञा दिइन् ।
उनले भनिन्–‘लगानीकर्ताहरूको मौद्रिक नीतिको समीक्षामा ४/१२ संशोधन हुन्छ भन्ने आशा भने थियो। तर केही परिवर्तन नभए पनि उक्त कुरा बजारले पचाइसकेकाले बजारलाई त्यति ठूलो हानी नगर्ने देखिन्छ। राष्ट्र बैङ्कले पनि मार्जिन प्रकृतिको कर्जाको पुनरावलोकन गर्ने भनेकाले सर्कुलरबाट केही आशा भने गर्न सकिएला कि ।’
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago