काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाह हुने सेयर धितो कर्जामा संकुचन आएको छ। 

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८०को प्रतिवेदनले यस्तो देखाएको हो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा मार्जिन प्रकृतिको कर्जा ५.२२ प्रतिशतले घटेको छ। 

अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको कुल ८० अर्ब ५० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो। गत आर्थिक वर्षमा भने कुल ७६ अर्ब ३० करोड रुपैयाँमात्रै सेयर धितो कर्जा भएको छ। 

त्यसो त अघिल्लो आर्थिक वर्ष पनि सेयर धितो कर्जा २४.२५ प्रतिशतले घटेको थियो। 

गत आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमा र १५० प्रतिशतको जोखिम भारका कारण सेयर धितो कर्जा घट्न पुगेको हो। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि सेयर धितो कर्जामा १२ करोड रुपैयाँको सीमालाई यथावत राखिएको छ भने ५० लाख रुपैयाँसम्मको कर्जामा जोखिम भार १०० प्रतिशत कायम गरिएको छ।  

समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ७ अर्ब ३ करोड रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। 

यसैगरी २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म १२ अर्ब ७८ करोड रुपैयाँ, ५० लाखदेखि १ करोड रुपैयाँसम्म ११ अर्ब ७७ करोड रुपैयाँ र १ करोड रुपैयाँमाथि ४४ अर्ब ७१ करोड रुपैयाँ सेयर धितो कर्जा बैंकहरुले प्रवाह गरेका छन्। 

अघिल्लो वर्षको २५ लाखसम्मको सेयर धितो कर्जा ८ अर्ब १५ करोड रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म १५ अर्ब २० करोड रुपैयाँ, ५० लाखदेखि १ करोड रुपैयाँसम्म १० अर्ब ५६ करोड रुपैयाँ र १ करोड रुपैयाँमाथि ४६ अर्ब ५७ करोड रुपैयाँ सेयर धितो कर्जा बैंकहरुले प्रवाह गरेका छन्। 

समीक्षा अवधिमा ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जा ११.५ प्रतिशतले बढेको छ। यसले सेयर धितो कर्जा लिने मझौला ऋणीहरुको संख्या बढेको देखिन्छ। 

अन्य साना तथा ठूला ऋणीको संख्या भने घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।