काठमाण्डौ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको सीमा घट्ने संकेत गरेसँगै लगानीकर्ताका विभिन्न संघसंगठनले विरोध जनाएका छन्। 

सेयर धितो कर्जाको सीमा पुनरावलोकन गरिने केन्द्रीय बैंकको नीतिविरुद्ध लगानीकर्ताका विभिन्न ५ संघसंगठनले विरोध जनाएका हुन्। यसविरुद्ध नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र सेयर लगानीकर्ता दबाब समूहले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाउँदै विरोध जनाएका छन्।

ज्ञापनपत्रमा विगत चार वर्षदेखि घट्दो क्रममा रहेको नेपालको पुँजीबलाई लगानीकर्ताहरुको विभिन्न चरणको आन्दोलनबाट प्राप्त भएको उपलब्धिका रुपमा रहेको ५८ बुँदे सहमतिमा पर्न सफल भएको मार्जिन ल्यान्डिङ बढाउनुपर्ने विषयलाई विगतको राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत सम्बोधन भई ४० प्रतिशत कायम गरिएको अवगत गराइएको छ। तर भर्खरै कोमाबाट निस्किएर विस्तारै आईसीयूमा स्थानान्तरण हुँदै गरेको नेपालको पुँजीबजारलाई मौद्रिक नीति लागू भएको ३ महिना पनि नबित्दै सो त्रैमासिक समीक्षाको बुँदा नं. ६८ मा सेयर कर्जा पुनरावलोकन गरिने भन्ने वाक्यांशले आफूहरुलाई अत्यन्त मर्माहत र चिन्तित बनाएको ज्ञापनपत्रमा ध्यानाकर्षण गराइएको छ।

विभिन्न सरोकारवाल निकायहरुसँगको छलफलपछि कार्यान्वयनमा भएको ७० प्रतिशत मार्जिन कर्जालाई अकास्मात परिवर्तन गर्न खोज्नु भनेको पुँजीबजारलाई अस्थिर बनाउनु राष्ट्र बैंक स्वयं नै लागिपरेकोमा ज्ञापनपत्रमा आपत्ति जनाइएको छ। यो गलत प्रभावमा परेर हतारका रुपमा निर्णय लिइएको ज्ञापनपत्रमा ठहर गरिएको छ।

राष्ट्र बैंकजस्तो गरिमामय संस्थाले आफ्नो नीति ३ महिना पनि टिकाउन नसक्नु भनेको यस संस्थाप्रति नेपाली जनतासँगसँगै विश्व जगतले समेत हेर्ने दृष्टिकोणले नकारात्मक जाने लगानीकर्ताहरुको भनाइ छ। 

ज्ञापनपत्रमा हालैको मौद्रिक नीतिमार्फत फेरबदल गर्न प्रयास गरिएको सेयर मार्जिन कर्जाको परिमार्जनसम्बन्धी निर्णय तत्काल फिर्ता लिन लगानीकर्ताहरुले माग गरेका छन्। करिब ३० लाख नागरिक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहभागी भएको यस क्षेत्रलाई अस्थिर र असन्तुलित बनाउन कहीँकतैबाट प्रयास भए लगानीकर्ताहरु जुनसुकै मूल्य चुकाएर भए पनि त्यसलाई असफल बनाउन कुनै कसर बाँकी नराख्ने चेतावनी पनि उनीहरुले दिएका छन्।