- भक्तराज रसाइली

काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले हाल बियरिस ट्रेन्डमा रहेको सेयर बजारलाई उकास्न तथा लगानीकर्ताको आत्मविश्वास बढाउन ठूला सरकारी संघसंस्थाहरुले बजारबाट सेयर उठाउनुपर्नेेमा जोड दिएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको दसौँ वार्षिक साधारणसभा कार्यक्रममा मन्तव्य राख्ने क्रममा अध्यक्ष रानाभाटले अहिले मार्केट सोचेजस्तो नभएको र मार्केटप्रति आत्मविश्वास खट्केको तर्क अगाडि सारे । आत्मविश्वास बढाउने किसिमका नीतिहरु निर्माणमा सरकारबाट पहलकदमी आवश्यक रहेको रानाभाटको भनाइ थियो । ‘सरकारको पहलकदमी र ठूला संस्थाहरुबाट सेयर उठाइए यसले बजारमा लगानीकर्ताको आत्मविश्वास बढ्नेछ’, रानाभाटले जिकिर गरे।

नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोषलगायतका संस्थाहरुलाई बजारबाट अनिवार्य रुपमा सेयर उठाउन सरकारले निर्देशन दिनुपर्ने पनि अध्यक्ष रानाभाटको भनाइ छ ।

कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका सीईओ चन्द्रसिंह साउदले नेपालको पूँजीबजारले छलाङ मारिरहेकोे दाबी गरे ।

नेपाल इन्भेस्टर्स फोरमका कोषाध्यक्ष अन्जीव तुलाधरले सेयर बजारका विषयमा समेत चासो राख्न सरकारलाई आग्रह गरे ।

त्यस्तै सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले सेयर बजारलाई प्राकृतिक रुपमा चल्न दिनुपर्ने धारणा राख्दै अर्थ मन्त्रालयद्वारा गठित समितिले दिएको ५८ बुँदे सुझाव कार्यान्वयनका लागि कार्यक्रममा उपस्थित अर्थमन्त्री डा युवराज खतिवडालाई स्मरण गराए ।

यसैगरी सेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेलले सरकारले पूँजीबजारमा व्याप्त समस्याहरुलाई समाधान गर्नुपर्ने जोड दिए 

प्रत्युत्तरमा अर्थमन्त्री खतिवडाले सेयर बजारलाई खेलौना नबनाउन तथा प्राकृतिक र स्वस्थ स्वरुपमा चल्न दिन सुझाव दिए । ‘मलाई दोषी चस्माले हेरिए, म चड्कन त फर्काउँदिन, गल्ती महसुस आफैँ होला’, उनले भने, ‘पूँजीबजारका समस्याहरुलाई छलफलद्वारा समाधान गरौँ।’