काठमाण्डौ । सेयर बजारमा लगानी अवधि दुई किसिमले निर्धारण गरिन्छ । एक अल्पकालीन र दोस्रो दीर्घकालीन । सेयर बजारमा सफल र जीत उसैको हुन्छ, जसले दीर्घकालीन सोच राखी लगानी गरिरहेको हुन्छ । यस्तै वर्गमा पर्ने र सेयर लगानीलाई दीर्घकालका लागि सोच्ने हजारौंमध्येका एक लगानीकर्ता हुन् सतिशकुमार बोहरा । 'होल्ड इज गोल्ड'को मान्यता राख्ने उनी सेयर बजारमा विगत २६ वर्षदेखि अनवरत रुपमा सक्रिय छन् । ६७ वर्षीय बोहरा उत्पादनमूलक उद्योगमा आवद्धसमेत छन् । रिफाइनरी र राइस मिल व्यवसाय गर्दै आएका बोहराले भारतको इलाहवाद युनिभर्सिटीबाट बीकम र त्रिविबाट २०४० सालमा एमबीए उत्तीर्ण गरे ।  

बिराटनगर रंगेली रोड स्थायी घर भएका बोहरा हाल काठमाण्डौ नयाँ बानेश्वरका बासिन्दा हुन् । व्यापारिक पारिवारिक पृष्ठभूमि भएका उनले युनिलिभर नेपाल लिमिटेड र एसबीआई बैंकको आइपीओबाट नेपालको सेयर बजारमा प्रवेश गरेका हुन् । २०५० सालताका उनले युनिलिभरको ५०० कित्ता सेयर हात पारेका थिए रे, अनि २०५१ सालतिर एसबीआइ बैंकको चाहिँ ४०० कित्ता सेयर । त्यतिबेला उनले मात्र युनिलिभरको सेयर भरेनछन् । उनका ५ जना स्टाफलाई युनिलिभरकै आइपीओ भर्नकै लागि भनेर प्रत्येकलाई १०/१० हजार दिएको सम्झँदै उनले भने-'उनीहरुले युनिलिभर र एसबीआइको सेयर भरे । उनीहरुले १०-१० कित्ता हात पनि पारे, तर १०००-१२०० पुग्ने बित्तिकै बेचिहाले ।'

युनिलिभरको सेयर बोहराले २५ वर्ष होल्ड गरेर दुई वर्षअघि मात्रै प्रतिकित्ता ३० हजार रुपैयाँमा बेच्न सफल भएछन् । एसबीआइको चाहिँ हाल ३० हजार कित्तासेयर लाभांशसहित जम्मा भइसकेको रहेछ । 'किन्ने बित्तिकै बढ्यो कि बेच्न आतूर हुन्छन्'उनी भन्छन्-'सेयर भनेको दैनिक कारोबारका लागि हुँदै होइन ।'

बैंकबाट ऋण ल्याएर त सेयर किन्नै नहुने बोहराको जिकिर छ । उनका अनुसार बैंकको ब्याजदरले नै नथेग्ने दाबी गर्दै अरु कुनै प्रयोजन वा कामका लागि मात्रै सेयर कारोबार गर्नुपर्ने उनले सुनाए ।

कम्पनीका बारे विस्तृत रिसर्च र अध्ययनपछि मात्रै छनौट गरी आइपीओ भर्ने गरेको उनको भोगाइ छ ।

धितोपत्रको दोस्रो बजारमा चाहिँ बोहरा २०४९-५० सालताका नै प्रवेश गरेका रहेछन् । एनआइडीसी क्यापिटलका तत्कालीन मुख्य हाकिम वाल्टर डिलर(जर्मन नागरिक) र दोस्रा मुख्य के एच रानाले पोर्टफोलियो हेरिदिने भन्दै उनकै नाममा सेयर कारोबार गरिदिएका रहेछन् । त्यतिबेला उनले सेयर किनबेच गर्न २० लाख रुपैयाँ लगानी गरे । त्यतिबेलाको नेप्से इण्डेक्स कति थियो भनेर चाहिँ उनले याद गर्न सकेनन् । पछि उनले पोर्टफोलियो बन्द गर्दा केबल १२ लाख हाराहारीमात्रै हात परेछ ।

त्यतिबेला अहिलेको जस्तो सेयर बजारको रौनक नभएको र थोरै मात्र लगानीकर्ताहरु रहेका बोहराले सम्झन पुगे । 'त्यतिबेला बैंक र इन्स्योरेन्सको आइपीओ चाहिँ थुप्रै आउँथ्यो।' उनले विगत सम्झँदै भने-'मैले त्यतिबेला समय नभएर नै पोर्टफोलियो अरुलाई जिम्मा दिएको थिएँ ।'

बोहरा आफैं भने दोस्रो बजारमा २०६० सालमा मात्र छिरे । नबिलको १०० कित्ता प्रतिकित्ता ५०० मा उनले दोस्रो बजारबाट किनेको पहिलो धितोपत्र रहेछ । आफूसँग भएको फण्डको उपलब्धता र बेला हेरेर मात्र दोस्रो बजारमा सेयर खरिदबिक्री गर्ने गरेका उनी सेयर बजारमा अपडेट हुन भने महिनाको एकचोटि चाहिँ ब्रोकरहाउस धाउने गरेको बताउँछन् । 

सेयर किन्नकै लागि भने बैंकबाट कहिल्यै कर्जा नलिएका बोहरा घटेको बेला कुर्ने र दीर्घकालीन लगानीलाई नै प्राथमिकता दिँदा रहेछन् । 'होल्डले सधैं नाफा नै हुन्छ.' उनले भने-'बजार बढ्दैमा सेयर बेच्न कुदिहाल्नु हुँदैन।' 

प्रफिट बूकमा सेयर किनबेचले मार्केटको दिशा तय नहुने उनको तर्क छ ।

बोहराले दोस्रो बजारबाट सबैभन्दा धेरै नाफा हात पारेको चाहिँ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी हो रे । नबिलले पनि धेरै नै नाफा दिएको उनी सुनाउँछन्, तर प्रफिट कति भयो भन्ने चाहिँ हेक्का नभएको बताउँछन् । 

आम लगानीकर्ताहरुलाई बोहरा घट्दा वा बढ्दा हतार गरेर बेच्न नहुने सुझाउँछन् । पर्खन सके सेयरले धेरैलाई उभो लगाउने उनको दाबीसमेत छ । बैंक ऋण चाहिँ लिनै नहुने उनी दोहोर्याउँछन् । सेयरको लाभांश र ब्याजदर तुलना गरेर मात्र सचेत हुन जरुरी भएको उनको भनाइ छ । दीर्घकालीन हिसाबले लामो समय सेयर पाल्न उनको आग्रह छ ।

छब्बीस वर्षे लामो सेयर बजारको यात्राबाट प्राप्त अनुभव बोहरा दीर्घकालीन र लाभांशमा आधारित सेयर लगानी फलदायी हुने जिकिर गर्छन् । राम्रा कम्पनीका सेयर बेच्न पनि सहज हुने उनी सुनाउँछन् । 'घटे आत्तिने हैन, बढे मात्तिने पनि हैन।'उनी भन्छन्-'धैर्य गरे धेरै खुशी मिल्छ ।'

बजार बढ्दा सबै सेक्टर बढेको देखेर बोहरा नेपाली सेयर बजार अचम्म र बुझ्नै नसकेको बताउँछन् । 'लाभांश र अन्य कारणले मात्र बजार बढ्नु पर्ने हैन र ?' उनले प्रतिप्रश्न गरे । 'म आश्चर्यमा छु । एउटा सेक्टर मात्र बढे सबै कम्पनीका सेयरमूल्य पनि बढ्न थाल्छ।'उनले भने-'एकाध बाहेक रातो भए सबै रातो र हरियो भए सबै हरियो ।'

नेपालमा अल्पकालीन र दीर्घकालीन दुवै लगानीकर्तालाई समान पूँजीगत लाभकर भएकोमा भने बोहराको असन्तुष्टि छ । नेप्सेमा सूचिकृत कम्पनी हाल लुप्त भएका र अस्तित्वमा नै नरहेको र आइपीओ भरेर लगानी डुबेका कम्पनीहरु बारे नियामकबाट लगानीकर्ताले कम्पनीको अवस्थाबारे यथार्थ जानकारी पाउनुपर्ने उनको माग छ । 'बुटवल धागो, निर्मल फर्मास्युटिकल्स, बाँसबारी लेदर सूज, अरुण वनस्पति, हरिसिद्धि लगायतका कम्पनीहरु बारे बुझ्न हामी कहाँ जाने ?'-उनले प्रश्न तेर्साए । आम लगानीकर्ताहरुले कम्पनीहरुमा फसाएको पैसा बारे जानकारी पाउनुपर्नेमा उनको जोड छ ।

'बजार बढे अथवा घटे मानिसहरु कुदिहाल्ने प्रवृत्ति व्याप्त भएको छ सेयर बजारमा ।'बोहराले भने-'मेरो पोर्टफोलियो लाभांशसहित लगानीको २० गुणा बढेको छ । यो मेरो धैर्यताकै फल हो ।'

सेयर बजारमा लगानी गर्दै आएका लगानीकर्तामा कुनै ठोस योजना नरहेको जिकिर गर्दै बोहरा भन्छन् -'होल्ड गर्दै जानुपर्ने रहेछ । दीर्घकालमा धेरै प्रफिट दिन्छ । राम्रो कम्पनीहरु पाल्नुपर्ने रहेछ ।'

अर्थमन्त्रीकै बोलीका भरमा सेयर बजारले बाटो तय नगर्ने दाबी गरेका बोहरा सरकारी नीति र तरलताले सेयर बजार प्रभावित हुने विचार राख्छन् ।