काठमाण्डौ । सेयर कारोबारको समय बढाउनुपर्ने चौतर्फी मागपछि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले  सो बिषयमा सम्बद्ध सबैसँग सुझाव मागेको छ । 

विगत एक दशकदेखि नेप्सेमा कारोबार समयलाई हरेक आइतबारदेखि बिहीबारसम्म मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म(दैनिक ३ घण्टा)मा सीमित गरिएको छ । दोश्रो बजारमा लगानीकर्ताको बढ्दो चाप र नेप्सेको कारोबार प्रणालीमा भइरहेको आधुनिक सुधार तथा परिवर्तनपछि  लगानीकर्ताले कारोबारको समयावधि बढाउनुपर्ने माग गरिरहेका छन् । 

‘प्रविधिको विकाससँगै बजारको पहुँच विस्तारै हुँदै गएको र नयाँ लगानीकर्ताको प्रवेश गर्ने क्रम जारी रहेकोले कालको कारोबार समय बढाउनुपर्ने माग लगानीकर्ताहरुबाट भएको छ ।’ नेप्सेले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ–‘कारोबार समय बढाउँदा सकारात्मक र नकारात्मक प्रभावहरु के के हुनसक्छन, यो बिषयमा सुझाव आवश्यक छ ।’ 

नेप्सेले ‘अहिलेको कारोबार अवधि सही छ या छैन, बढाउनुपर्ने आवश्यकता छ या छैन वा कति समय बढाउँदा लगानीकर्ताको माग सम्बोधन हुन्छ’ लगायतका बिषयमा अध्ययन थालिएको पनि स्पष्ट पारेको छ । नेप्सेका अधिकारी आफैं पनि कारोबार समय केही बढाउने पक्षमा छन्, तर आवश्यक खोज, अनुसन्धान र लगानीकर्ताहरुको मागलाई सम्बोधन हुने गरी अगाडि बढ्न यसरी सुझाव मागिएको हो । 

नेप्सेले एकहप्ताभित्रमा कारोबार अवधिको बिषयमा कुनै सुझाव वा सिफारिस पठाएर सहयोग गरिदिन आग्रह गरेको छ । 

नेप्सेले आइतबार जारी गरेको विज्ञप्ति ।