–धर्म मलासी
काठमाण्डौ । सदाको साताझै आज पनि सेयर खरीदबिक्री हुने ब्रोकर हाउसमा पुगेर त्यहाँ देखे/सुनेका वस्तु स्थिति हाम्रा पाठकसामु पस्किने स्तम्भ ‘ग्राउन्ड जिरो’ प्रस्तुत गर्दैछौ ।

शुक्रबार र शनिबार बन्द रही आइतबारबाट सञ्चालन हुने नेप्सेको सेयर कारोबारको आजको पहिलो प्रहरमा हामी अनामनगमा रहेको कालिका सेक्युरिटीज पुगेका थियौ । हामी त्यहाँ पुग्दा नेप्से कारोबार सुुरु भइसकेको थियो । लगानीकर्ताको लागि छुटइएका आधाजसो सिटहरु खाली थिए । त्यहाँ उपस्थित सबैका नजर कारोबार स्क्रिीनतर्फ सोझिएका थिए भने केही लगानीकर्ता टेडिङ काउन्टरमा सेयर खरीदबिक्री गर्न व्यस्त थिए । केही लगानीकर्ता भने सेयर खरीदबिक्रीबाट आफूहरुले कमाएको पैसाको लेखाजोखा गर्दै थिए । यसै क्रममा एक लगानीकर्ताले अर्का लगानीकर्तासामु प्रश्न तेर्साए–“कति कमाउनुुभयो त बजारको यो उतारचढावमा ”? “सेयरको मूल्य कम हँुदा किन्न डराइयो आज सबैमा हरियो देख्दा मन पोल्दै छ।” निराशाले भरिएको जवाफ आयो । ‘भएको पैसा गोजीभित्र राखे पछि नाफा कसरी हुन्छ त ?’ उनलाई अर्का लगानीकर्ताले व्यङ्ग्य कसे । 

छलफलमा सरिक हुँदै अर्का लगानीकर्ताले मुख खोले–‘भाग्यमा जति छ त्यति मात्रै कमाइन्छ, अब समुन्द्रमा अथाहा पानी छ भन्दैमा आफ्नो भाडो भन्दा धेरै पानी ल्याउन मिल्छ र ?”  उनले यसो भन्दै गर्दा कारोबार स्क्रिनमा पनि लगभग सबैजसो कम्पनीको सेयर कारोबारमा हरियो पोतिएको दखिन्थ्यो । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान निर्देशन र सुझाव दिएकाले अब बलिया र ठूला बैंकहरु धमाधम मर्जरमा जानसक्ने भएकाले बैंक र वित्तीय संस्थाको सेयर खरीद गर्दा राम्रो हुने विश्लेषण त्यहाँ रहेका लगानीकर्तामा पाइयो । ब्रोकर हाउसमा धेरैपछि आएका एक लगानीकर्तालाई इंगित गर्दे अर्काले भने–‘के हो मार्केट हरियो हँुदा मात्रै यताको बाटो सम्झनुहुन्छ ?’ जवाफमा ती लगानीकर्ता खिसिक्क हाँसे मात्र । एकछिन पछि उनले सेयर बजारमा पछिल्लो हप्तादेखि देखिएको ‘उतारचढाव’को कारण सोधे । भीडबाट सेयर बजारमा पनि अर्थशास्त्रको नियम लागू हुने र यसको सही प्रक्षेपण कसैले पनिगर्न नसक्ने भन्ने जवाफ आएको सुुनियो । 

यो क्रममा लगानीकर्ताले ग्लोबल आइएमइ बैंकको पनि चर्चा गरेको सुनियो । ‘हैन हौ सबै बैंकको मूल्य बढ्दा यो ग्लोबल आइएमइको मूल्य किन बढ्दैन ? अस्ति मार्केट बुम हँुदा पनि यसको मूल्य खासै बढेको थिएन । खास कुरो के हो ?’ ‘ग्लोबल आइएमइको मूल्य नबढे पनि जनता बैंकका लगानीकर्तालाई भने फाइदै भएको छ ।’ एक महिला लगानीकर्ताले भनिन् । उनले अब आफू सेयर बजारबाट पलायन हुन लागेको कुरा पनि गरेको सुनियो । उनको यो निर्णयलाई गलत बताउँदै उनका सहपाठीले सेयर कारोबार गर्दा न कोठा भाडा तिर्नुु पर्छ, न जागिर जाला भन्ने डर नै हुन्छ किन यस्तो सहज कमाइ हुने क्षेत्र छोड्नुपर्यो ? प्रश्न गरिरहेका पनि सुनियो ।

कालिका सेक्युरिटिजमा आधा घण्टाजसो बिताएपछि हामी अनामनगरमै रहेको भिजन सेक्युरिटिजमा पुग्यौ । त्यहाँका सबै सिट खचाखच भरिएका थिए । केही लगानीकर्ता उभिएरै भए पनि डिस्प्ले रुमको स्क्रिनमा बजारको गतिविधि नियालिरहेका थिए । हामी त्यहाँ पुग्दा नेप्से इन्डेक्स १३३७ पुगेको थियो र यो अझ बढ्ने क्रममै थियो । त्यहाँ सूर्या लाइफ इन्स्योरेन्सको चर्चा भइरहेको थियो । कुनै एक लगानीकर्ताले ‘आज सूर्या लाइफमा सर्किट लाग्ने अनुमान’ गरिरहेका थिए । हामीले स्क्रिनमा नजर घुमाउँदा नेको इन्स्योरेन्स र सिद्धाथ इन्स्योरेन्सको मूल्य उस्तै उस्तै गतिमा बढेको देखियो । यस्तैमा अगाडिको पंक्तिबाट एक लगानीकर्ताले नेकोभन्दा सिद्धार्थ लाइफको सेयर मूल्य बढ्ने दाबी गरिएको सुनियो ।

‘आफू त नागरिक लगानीकोषको सेयर बैशाखसम्म राख्ने हो, त्यसपछि नाफाघाटा जे भए पनि बेच्ने हो” एक बयोवृद्ध लगानीकर्ताले आफ्नो योजना सुनाए । उनको योजनाप्रति व्यङ्ग्य कस्दै अर्का पाका लगानीकर्ताले भने–‘एउटा सामान्य जुत्तामा एडिडासको लोगो राखेर बेच्दा त्यस्को बिक्री अन्य जुत्ताभन्दा धेरै हुन्छ, ख्याल गर्नुस ।’

लगानीकर्ताको गन्थन सुन्दै बेला बेला हाम्रो नजर स्क्रिनमा पनि गइरहेका हुन्थे । त्यसबेला नेप्से इन्डेक्स सामान्य गतिमा उकालो लाग्दै थियो । अधिकांश इन्स्योरेन्स, लघुुवित्त कम्पनी र बैंकिङ समूहका सेयर मूल्यमा बढोत्तरी भइरहेको थियो । केही लगानीकर्ता सानिमा बैंकको सेयर मूल्य बढेकोमा आश्चर्य मान्दै थिए । अर्का थरीले भने सबैमा सानिमाको आर्कषण देखिएकाले यसको मूल्य बढेको तर्क समेत राखिरहेका थिए ।

भिजन सेक्युरिटिजका लगानीकर्ताको कुरा सुनिसकेपछि हामी न्यूप्लाजामा अवस्थित प्रिमियम सेक्युरिटिजमा पुग्यौ । त्यहाँ पुग्दा नेप्से इन्डेक्स १३४२ को विन्दुुमा पुगिसकेको थियो भने कारोबार रकम पनि एक अर्ब डेढ करोड पुगेको पाइयो । अन्य बैंकको सेयरले राम्रो गरिरहँदा प्रभु बैंकको सेयरमूल्य भने घटिरहेको थियो । यही तथ्यलाई इंगित गर्दै सिटमा बसेका एक लगानीकर्ताले भने–‘आज प्रभुुलाई के भयो ?’ ‘प्रभुु रिसाउनुभए जस्तो छ ।’ पछाडिबाट ठट्यौली पारामा जवाफ आयो । जवाफ सुनेर एकछिन सबैका मुहारमाहासो छरियो । ‘हैन यो प्रभुु बैंकको बारेमा मिडियामा नकारात्मक मात्रै समाचार आउँछ, कतै यसको मूल्य घटाएर सस्तोमा किन्ने भित्री खेल त भइरहेको छैन ?’ एक लगानीकर्ताले संशय व्यक्त गरे ।  त्यहाँ रहेका लगानीकर्तामा बैंकिङ समूहले मात्रै अबको  सेयर बजारलाई उचाल्न सक्नेमा एकमत रहेको पाइयो । 

एकैछिनअघि  ९९५ रुपैयाँ रहेको वोमी लघुवित्तको सेयर मूल्य बढेर १०४५ भएको थियो । वोमीको यो मूल्य वृद्धिलाई केही लगानीकर्ताले सस्तो भएको र किन्दा हुने सुझाव दिएका सुनियो । बेला बेलामा सेयर बजारभन्दा बाहिरका विषयले पनि स्थान पाइरहेको थियो । कोरोना भाइरसको विषय पनि उठान भइरहेको थियो । कोरोनाभाइरसलाई सेयर बजारसँग जोड्दै एक लगानीकर्ताले प्रतिकात्मक शैलीमा भने–‘नेपाली सेयर बजारमा पनि कोरोनाभाइरस जस्तै हानी पुर्याउने भाइरस सक्रिय छन्, तर ती भाइरसले बेलामौकामा मात्रै संन्त्रास फैलाउँदै आएका छन् । सेयर बजारका यस्ता भाइरसलाई बेलैमा निर्मुुल पार्न नसकिए यस्ले नेपाली सेयर बजार र लगानीमा अपुरणीय क्षति पुर्याउन सक्छ । सेयर बजारका यस्ता भाइरस र चिनमा देखिएको कोरोनाभाइरसबाट जोगिनु होला है मित्रजनहरु ।’ 

पुतली सडकको त्रिशक्ति सेक्युरिटिजमा पुग्दा बजारलाई लिएर लगानीकर्तामा उत्साह रहेको पाइयो । सेयर बजार उकालो लाग्दै गर्दा यसले अर्थमन्त्रीलाई पनि फाइदा पुग्ने लगानीकर्ताको विश्लेषण थियो । ‘सेयरको मूल्य बढ्दा सरकारले पनि क्यापिटल गेन मार्फत राज्यको ढुुकुुटी बढाउने मौका पाउँछ । त्यसैले सरकारले सेयर बजारलाई उकास्ने नीति ल्याउन आवश्यक छ ।’ एक युवा लगानीकर्ताले आफ्नो धारणा सुनाए । उनको धारणमा त्यहाँ रहेका प्राय सबैले सहमति जनाए र सरकारले सेयर बजारलाई अझै परिष्कृत गर्दै लेजानुपर्नेमा जोड दिए । महिला र पुरुष दुवै लगानीकर्ता बहसमा समान तवरले सहभागी भइरहेका थिए । एक पुरुष लगानीकर्ताले आफूले छोराछोरीको नाममा समेत सेयर किने प्रसंग निकाले । ‘छोराको नाममा ठूला र राम्रा कम्पनीको सेयर किन्ने अनि छोरीको नाममा चाहि कमजोर र नबढ्ने खालको कम्पनीको सेयर किन्ने ? सेयरमा पनि छोराछोरीबीच भेदभाव? यो त भएन है ।’ एक महिला लगानीकर्ताले पछाडिको सिटबाट व्यङ्ग्य कसिन् ।

छलफलको क्रममा अब आउने नयाँ अर्थमन्त्रीको चर्चाले पनि प्रवेश पाएको देखियो । अब नयाँ अर्थमन्त्रीमा सुरेन्द्र पाण्डे आएमा बजार दौडिएर १५०० माथि पुग्ने लगानीकर्ता दाबी गरिरहेका थिए । सेयर बजारमा सुधार चाहने हो भने वर्तमान अर्थमन्त्री बहिर्गमन अनिवार्य रहेको लगानीकर्ताहरुको धारणा सुनियो । 

यसरी आज हामी लगानीकर्तामाझ पुग्दा समग्रमा सेयर बजारबारे उनीहरुको धारणा सकारात्मक रहेको र लगानीकर्ताको मनोबल दिनप्रतिदिन बढ्दै गएको पाइयो । लगानीकर्ताको बढ्दो मनोबलले समेत आगामी दिनको बजार समेत अझ बलियो हुने सहजै अनुमान लगाउन सकिन्छ ।