काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ता र ब्रोकरहरुका लागि समेत राहात प्याकेज ल्याउन नेपाल राष्ट्रबैंकमा सिफारिस गरेको छ । 

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारका लगानीकर्ता र ब्रोकरहरुको सहजताका लागि केही राहात ल्याउनका लागि केन्द्रीय बैंकमा औपचारिक रुपमै लिखित प्रस्ताव पेश गरिएको जानकारी दिए । 

उनले लामो समयको लकडाउनपछि असहज बनेको पूँजीबजारका लगानीकर्ता र अन्य सरोकारवालाका सहजताका लागि राहात प्याकेज चाहिने आवश्यकतामा जोड दिंदै अन्य क्षेत्रमा जस्तो ठूलो राहातको भने अपेक्षा नगर्न आग्रह गरे । 

उनले नेपाल राष्ट्रबैंकलाई नवीकरण गर्नुपर्ने मार्जिन लोनको सीमा ८५ प्रतिशत पुर्याइदिन आग्रह गरिएको बताए । ‘अहिले पनि लगानीकर्ताले बैंकबाट मार्जिन लोन लिंदा ६५ प्रतिशतको सीमाको सुविधा पाएका छन् । बैंकहरुले सेयर मूल्यमा २० प्रतिशतसम्म तलमाथि हुँदा मार्जिन कल गर्दैनन् । यसको अर्थ समग्रमा अहिले पनि मार्जिन लोनमा ८५ प्रतिशतको सुविधा बैंकहरुले दिएकै छन् ।’ अध्यक्ष ढुंगानाले भने–‘अब नवीकरण गर्नुपर्ने यस्ता लोनहरुमा पनि ८५ प्रतिशत सीमाकै सुविधा दिनुपर्छ । अहिले नवीकरण गर्दा ६५ प्रतिशत मात्र सीमा दिने व्यवस्था छ ।’ 

बोर्डले अन्य कर्जा लिने ऋणिहरुलाई जेजस्तो सुविधा र राहात दिइन्छ, सेयर धितो कर्जा लिनेहरुका लागि समेत त्यस्तै सुविधा र राहात दिइनुपर्ने प्रस्ताव समेत नेपाल राष्ट्रबैंकमा पेश गरेको छ । 

बोर्डले सरकारी बण्डहरुलाई पनि मार्केटमा कारोबार गर्ने व्यवस्था मिलाउने विषयमा पनि लेखिपठाएको छ । 

यस्तै, मार्जिन ट्रेडिङ गर्ने ब्रोकरहरुले बैंकहरुबाट लिने ऋणको ब्याजदर व्यक्तिगत रुपमा लिइने धितो कर्जाको ब्याजदरभन्दा केही भए पनि कम कायम गर्नुपर्ने सुझाव समेत राष्ट्रबैंकलाई दिइएको ढुंगानाले जानकारी दिए । 

‘ब्रोकरहरुले मार्जिन कारोबारका लागि वाणिज्य बैंकबाट ऋण लिएर त्यही रकम पुनः लगानीकर्ताहरुलाई दिने हुन्  ।’ ढुंगानाले थपे–‘यसकारण व्यक्तिगत रुपमा बैंकमा गएर सेयर लगानीकर्ताले ऋण लिँदा जति प्रतिशत ब्याजमा पैसा पाउने हो, ब्रोकरहरुलाई त्योभन्दा केही कम ब्याजदरमा ऋण दिइनुपर्छ, ताकि ब्रोकरहरुले मार्जिन लोन दिंदा बैंकको भन्दा बढी ब्याजको भार लगानीकर्तालाई नपरोस् ।’ 

बोर्डले अनलाइन सेयर कारोबार गर्नेहरुलाई कनेक्ट आइपीएसमा हाल रहेको १० लाख रुपैयाँको सीमा बढाइदिन समेत आग्रह गरिएको बताए । 

राहात प्याकेजको विषयमा आफूहरु निरन्तर केन्द्रीय बैंकसँग छलफलमा रहेको समेत उनले जानकारी दिए । 

बोर्ड अध्यक्ष ढुंगानाले आगामी बजेटमा समावेश हुने सेयर बजारसँग सम्बन्धित विषयहरुमा समेत अर्थमन्त्रालयसँग छलफल थालिएको जानकारी दिए । ‘बजेटमा समेटिनसक्ने करको सन्दर्भमा, बजार पुनरसंरचनाको सन्दर्भमा पनि कुराकानी भइरहेको छ ।’ उनले थपे–‘हामीले सक्नेसम्मका काम गर्छौ । हाम्रा सुझावप्रति सरकार पनि सकारात्मक नै छ।’