– भक्तराज रसाइली 

काठमाण्डौ । सेयर बजारमा गैरआवसीय नेपाली (एनआरएन) हरुलाई प्रवेशको बाटो खुला हुने भएको छ।

नेपाल धितोपत्र बोर्डले एनआरएनहरुले पनि नेपाली सेयर बजारमा लगानीको नीतिगत व्यवस्थाका लागि औपचारिक सुरुआत गरेको हो। बोर्डले एक साताअघि बाह्य विज्ञको संयोजकत्वमा एक कमिटी नै खडा गरिएको बोर्डका एक उच्च अधिकारीले बताए। बोर्डले एनआरएनहरुलाई पनि पुँजीबजारमा प्रवेश गराउने उद्देश्य लिई गठन गरेको कमिटीले काम सुरु गरिसकेको ती अधिकारीको भनाइ छ। 

विज्ञ कमिटीले हाल एनआरएनहरुसँग सम्पर्क बढाइरहेको र निकट समयमै सेयर बजारमा पनि एनआरएनको प्रवेश गर्ने बोर्डको तयारी छ।

स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट पछिल्लो समय नेपालको सेयर बजार पूर्ण अनलाइन प्रविधिमा गइसकेका कारण एनआरएनमात्रै नभई विदेशी लगानीकर्तासमेत भित्र्याउनुपर्ने बताउँछन्। रियल सेक्टर र ठूला कम्पनीहरुको उत्साहजनक आगमन भएका कारण एनआरएन र विदेशी लगानीकर्तालाई ल्याइनुपर्नेमा उनले जोड दिए। बजारको आकार बढेसँगै सेयर कारोबार गर्न पनि सहज भइरहेका कारण जतिसक्दो छिटो एनआरएलाई पनि सेयर बजारमा प्रवेश गराउनुपर्ने उनको ठम्याइ छ।

एनआरएनलाई सेयर बजारमा दिल खोलेर स्वागत गर्नुपर्ने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए। ‘उनीहरुलाई सेयर बजारमा प्रवेश गराउँदा धेरै राम्रो हुन्छ’, उनले भने, ‘पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले समेत लगानी सम्मेलनमा गैरआवसीय नेपालीले डलर लगानी गरी मुनाफा डलरमै लैजाने व्यवस्था हुनसक्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नयाँ कम्पनी तथा रियल सेक्टरका कम्पनीको प्रवेश र एनआरएनको आगमनले नेप्सेले थप नयाँ उचाइ चुम्नेछ।’

विगतमा पनि एनआरएनलाई पुँजीबजारमा प्रवेश गराउने बोर्डको नीति तथा कार्यक्रम भए पनि कार्यान्वयन फितलो भएको थियो। एनआरएनलाई पुँजी बजारमा प्रवेश गराउँदा विविध कानुनी तथा व्यवहारिक असहजताहरुकै कारण उनीहरुको प्रवेश हुन सकिरहेको थिएन।

पुँजीबजारको विकास तथा विस्तारमा एनआरएनको प्रवेशलाई स्वागत गर्न धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले यसपालि भने कार्यान्वयन गरेरै छाड्ने बोर्डका अधिकारीहरु बताउँछन्।