काठमाण्डौ । निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्ताले एक सातामै ३ खर्ब ९ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन्।

अघिल्लो सातादेखि नेप्से परिसूचकमा सुख्खा पहिरो गएसँगै कुल बजार पुँजीकरणमा समेत पहिरो गएको हो। धितोपत्र कारोबार मापक नेप्से परिसूचक गत फागुन ९ गते हालसम्मकै सर्वाधिक उचाइ चुम्दै २६४१.०३ विन्दुमा पुगेको थियो। सोही दिन कुल बजार पुँजीकरण पनि हालसम्मकै सर्वाधिक ३६ खर्ब ३८ अर्ब २७ करोड रुपैयाँ बढी पुगेको थियो। 

गत साताको पहिलो दिन लगानीकर्ताको कुल सम्पत्ति बढेर ३६ खर्ब ३८ अर्ब २७ करोड रुपैयाँ रहेकोमा आज बुधबार कुल सम्पत्ति ३३ खर्ब २८ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ। यसको मतलब लगानीकर्ताले एक सातामै ३ खर्ब ९ अर्ब ४६ करोड रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका हुन्।

गत आइतबार नेप्सेले हालसम्मकै सर्वाधिक उचाइ २६४१.०३ चुमेकोमा आज बुधबार भने नेप्से २४१६ विन्दुमा खुम्चिएको छ। बजारले ओरालो यात्रा तय गरेसँगै दैनिक कारोबार रकमसमेत आधा घटेको छ।