– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ ल्याएसँगै सर्वसाधारणको आकर्षण प्राथमिक बजारमा बढ्दै गएको देखिन्छ। निफ्राले हालसम्मकै ठूलो रु. ८ अर्ब रुपैयाँको आईपीओ बिक्री गरेको थियो। यो आईपीओमा आवेदन दिने सबैले सेयर हात पारेका थिए।
यसै सिलसिलामा आज हामीले निफ्रालाई आधारभूत र प्राविधिक रुपमा विश्लेषण गर्ने कोसिस गरेका छौँ।
निफ्रा एकमात्र प्राइभेट–पब्लिक पार्टनरसिपमा आधारित बैंक हो। निफ्रामा वाणिज्य बैंकहरुको २०.८९ प्रतिशत, नेपाल सरकारको १० प्रतिशत, जीवन बीमा र निर्जीवन बीमाको १८.९७ प्रतिशत, अन्य प्राइभेट एन्ड पब्लिक कम्पनीको ५.१५ प्रतिशत, उद्यमी/व्यवसायीहरुको ४.९९ प्रतिशत गरी ६० प्रतिशत संस्थापक सेयर रहेको छ। निफ्रामा सर्वसाधरणको ४० प्रतिशत सेयर रहेको छ।
यो बैंकको जारी पुँजी २० अर्ब रुपैयाँ र अधिकृत पुँजी ४० अर्ब रुपैयाँ रहेको छ। यो बैंक सन् २०१८ जुनमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म निफ्राले ८३ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ८० करोड रुपैयाँ सापटी पनि लिएको देखिन्छ। बैंकको हालको प्रतिसेयर आम्दानी ५.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४९२ रुपैयाँ रहेको छ। जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ रहेको बैंकको रिटर्न अन इक्विटी ४.९६ प्रतिशत रहेको छ।
चौथो त्रैमाससम्म बैंकले ८३ अर्ब ६४ लाख रुपैयाँको खुद नाफा आर्जन गरेको छ।
निफ्राका सूचना अधिकारी सुवर्णकुमार सिंहका अनुसार यो बैंकले कुनै पनि परियोजनामा न्यूनतम ३० करोड रुपैयाँ लगानी गर्छ। निफ्राले २५ मेगावटभन्दा बढी क्षमताका जलविद्युत कम्पनी र तीनतोरेभन्दा माथिका होटेलहरुमा लगानी गर्छ। बैंकले लगानी २२ अर्ब रुपैयाँभन्दा बढी गरेको छ भने कर्जा ४ अर्ब रुपैयाँभन्दा बढी लिएको सिंहले जानकारी दिए।
प्राविधिक पक्ष
इलिअट वेभ सिद्धान्तका आधारमा
यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ।
यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ।
निफ्राले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल इन्टरमिडियट डिग्रीको वेभ २ चलेको देखिन्छ। जसअन्तर्गत वेभ (१) मा निफ्राको सेयरमूल्य बढेर ७२५ रुपैयाँ भएको थियो भने हाल चलेको वेभ (२) मा घटेर ४१८ रुपैयाँसम्म आएको छ। अब यदि निफ्राको सेयरमूल्य यहीँबाट बढेर सोही डिग्रीको वेभ (३) बनाउँछ भने त्यो फिवोनासीको १.६१ प्रतिशतको वृद्धि हुन जान्छ र सेयरभाउ ९०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। पुनः वेभ (४) चल्दा करेक्सन आएर ७२५ रुपैयाँसम्म हुन सक्छ भने त्यसपछि वेभ (५) को वृद्धि र फिवोनासीकै २.६१ प्रतिशतको एक्सटेन्सनले निफ्राको सेयरमूल्य १२०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि निफ्राको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा ५७९ रुपैयाँमा, ०.३८ प्रतिशतको टेवा ५६७ रुपैयाँमा, ०.५ प्रतिशतको टेवा ५५६ रुपैयाँ तथा ०.६१ प्रतिशतको टेवा ५४५ रुपैयाँसम्म हुन सक्ने देखिन्छ। १ प्रतिशतको टेवा ५१२ रुपैयाँ, १.६१ प्रतिशतको टेवा ४६० रुपैयाँ र २.६१ प्रतिशतको टेवा ३७० रुपैयाँसम्म हुन सक्छ।
एमएसीडी लाइनका आधारमा
सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने केही सयमपहिले नै एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेर बियारिस सिग्नल बनेको छ (हेनुहोस् रातो एरो)। हिस्टोग्राम नेगेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय बिक्रीचाप पर्न सक्ने देखिन्छ।
बोलिंगर ब्यान्डका आधारमा
यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत निफ्राको मूल्य रेखाले तल्लो ब्यान्डलाई छोएको छ र रातो क्यान्डल बनेको छ। यसले सेयरमूल्यमा केही समय बजार बिक्रीचाप पर्न सक्ने बुझिन्छ।
आरएसआईका आधारमा
आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोन भनेर छुट्याइन्छ। यो बैंकको हालको आरएसआई २६ रहेको छ। यसको न्यून विन्दु पनि २६ नै रहेको छ। यो सूचकका आधारमा निफ्राको मूल्य ओभर सोल्ड जोनमा नै रहेकोले कुनै पनि समयमा मूल्य उकालो लाग्न सक्छ।
पिभट विश्लेषणका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्ट : ४२४
घटेमा सर्पोट
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago