काठमाण्डौ । सेयर लगानीकर्ताका अगुवाहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्न माग गरेका छन् । 

प्रम देउवाले समेत लाखौं सेयर लगानीकर्ताहरुको सम्पत्ति स्वाहा हुने गरी काम गर्ने नेपाल राष्ट्रबैंकको नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै बजारमा उठेका मागहरुको सरकारले सम्बोधन गर्ने बचन दिएका छन्। 

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलकाअनुसार सेयर बजारका लगानीकर्ताहरुको गुनासो र मागको विषयमा प्रधानमन्त्री देउवालाई आइतबार नै जानकारी गराइसकिएको छ । सो विषयमा प्रधानमन्त्री देउवा समेत सकारात्मक रहेका छन् । 

‘हामीले उहाँका स्वकीय सचिवमार्फत नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत गरेको व्यवस्थाले लाखौं लगानीकर्ताको सम्पत्तिमाथि धावा बोलिएको विषय पुर्याएका छौं ।’ उपाध्यक्ष फूल्लेलले भने–‘प्रधानमन्त्री ज्यूले समेत बजारको समस्याको विषयमा आफूलाई सूचना रहेको भन्दै लगानीकर्ताहरुको माग सम्बोधन हुने आश्वासन दिनुभएको हामीले खबर पाएका छौं ।’ 

उपाध्यक्ष फूल्लेलका अनुसार राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत कुनै एक व्यक्तिले एक संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँ मात्र सेयरधितो कर्जा लिन पाउने भनी गरेको व्यवस्था अव्यवहारिक, गलत र बजारको लगानीलाई निरुत्साहित गर्ने गलत उद्देश्यबाट प्रेरित छ । 'यो व्यवस्था तत्काल खारेज हुनुपर्छ ।' फूल्लेले भने-'यो भएन भने लगानीकर्ताले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नेछन् ।' 

उनले देउवा नेतृत्वको सरकार सेयर लगानीकर्तामाथि भइरहेको अन्याय र विभिन्न खालका प्रहारको विषयमा गम्भीर रहेको आफूले पाएको दाबी गर्दै संयमतापूर्वक कारोबार गर्न समेत आह्वान गरेका छन् ।