काठमाण्डौ । धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट विनियमावली, २०६९ अनुसार धितोपत्र कारोबार सम्पन्न भएको दुई कार्य दिनभित्र राफसाफसम्बन्धी कार्य सम्पन्न नगरेमा बजारको अवस्था एवं प्रकृति हेरी सीडीएससीले क्लोजआउट गर्न सक्ने व्यवस्था रहेको छ। 

धितोपत्र बिक्री गरेकोभन्दा कम संख्यामा सेयर उपलब्ध गराएमा पनि क्लोजआउट हुने व्यवस्था छ। क्लोजआउट हुँदा सदस्यले कारोबार मूल्यको २० प्रतिशत रकम थप गरी सीडीएससीमा बुझाउनु पर्छ। क्लोजआउट हुँदा हुने सम्पूर्ण खर्च सदस्यको खाताबाट बेहोरिनेसमेत विनियमावलीमा उल्लेखित छ।

‘क्लोजआउट भनेको लगानीकर्ताहरुले बेचेकोको सेयर उपलब्ध गराउन सकेनन् भने अन्तिम विकल्प हो। यो त लास्ट रिसर्ट हो’, स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली भन्छन्, ‘अन्तर्राष्ट्रिय पुँजी बजारमा जस्तो अन्य विकल्पहरु जस्तै– धितोपत्र उधारोमा लिएर दिने, अक्सन मार्केटजस्ता अन्य मोडलहरु पनि अपनाउन सकिन्छ।’

‘हामी विदेशी संस्थागत लगानीकर्ताहरुको नेपाली पुँजी बजारमा भविष्यमा हुन् सक्ने लगानी र उनीहरूको भूमिकाबारे छलफल गर्ने गरेका छौँ। तर, कारोबार भएपछि सेयर दिन नसक्दा सीधै क्लोज आउटमा पर्ने सिस्टम देख्दा त उनीहरू छक्क पर्छन् होला’, मैनाली अगाडि भन्छन्, ‘यसले विदेशी लगानीकर्ताहरुमाझ नेपाली पुँजी बजार अपरिपक्व साथै अविश्वसनीय बजार हो भन्ने मेसेज जान्छ।’

अहिले क्लोजआउट हुने संख्या पनि घट्दो छ। ‘त्यसैले सीधै अन्तिम विकल्प क्लोज आउटमा जानुभन्दा अक्सन मार्केटजस्ता विकल्पहरु अनुसरण गर्दा विदेशी लगानीकर्ताहरु नेपाली पुँजी बजारमा लगानी गर्न आकर्षित हुने थिए’, मैनालीले भने।