– अर्जुन तिमिल्सना

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स लगानीकर्ताहरुको रोजाइमा पर्ने जीवन बीमा कम्पनीहरुमध्ये एउटा हो। जीवन बीमा क्षेत्रमा यो कम्पनीले आफ्नै बेग्लै पहिचान बनाएको छ। कुल चुक्तापुँजी, जीवन बीमा कोष तथा लाभांश इतिहासका आधारमा यो कम्पनी पहिलो स्थानमा रहेको देखिन्छ। 

चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी ७ अर्ब १९ करोड ९९ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा ८६ करोड ८६ लाख रुपैयाँ बढी रहेको छ। 

कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब १८ अर्ब रुपैयाँ बढीको छ। प्रतिसेयर नेटवर्थ १२०.८५ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८४६ रुपैयाँ रहेको छ। 

प्रथम त्रैमासमा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ अर्ब ७४ करोड रुपैयाँ रहेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ९.२१ प्रतिशतले बढी हो। 

प्रथम त्रैमासमा कम्पनीले ४ अर्ब २६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ अर्ब ८७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

कम्पनीको विगत ८ वर्षको लाभांश इतिहास नियाल्दा औसत लाभांश दर ६४.४३ प्रतिशत रहेको देखिन्छ।

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ धेरै विश्वासिलो  मानिन्छ। किनकि यो वेभले लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। 

खासमा सेयर बजार  सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ए, बी र सी बजार तल जाने संकेत गर्छ। 

नेपाल लाइफको सन् २०१९ अक्टोबर १० देखि हालसम्मको चार्टलाई अध्ययन गर्दा कम्पनीको सेयरमूल्यले विभिन्न समयमा उतारचढाव गरेको पाइन्छ। यसलाई इलिअट वेभअन्तर्गत हेर्दा सन् २०१९ को अक्टोबर महिनमा यो कम्पनीको सेयरमूल्य ६०० रुपैयाँसम्म आएको देखिन्छ। यो न्यून विन्दुलाई आधार मानेर हालसम्मको मूल्यलाई चार्टमा विश्लेषण गर्दा वेभ (१) मा ११४१ रुपैयाँसम्म पुगेको देखिन्छ। त्यसैगरी वेभ (२) मा पुनः करेक्सन भएर ७१४  रुपैयाँसम्म र वेभ (३) जुन हामी भन्दै आएका छौँ सबैभन्दा ठूलो र लामो हुने गर्छ। जसअन्तर्गत यो कम्पनीको सेयर बढेर २५०० रुपैयाँसम्म पुगेको देखिन्छ। हाल सोही चक्रअन्तर्गत यो कम्पनीको सेयरभाउ वेभ (४) अन्तर्गत हाल १५०० रुपैयाँसम्म आएको देखिन्छ। अब इलिअट वेभको सिद्धान्त र फिवोनासी एक्सटेन्सनलाई मिलाएर  हेर्ने हो भने कम्तीमा १.६१ प्रतिशतको वृद्धिलाई लिँदा यो कम्पनीको सेयरमूल्य अहिलको मूल्यबाट आगामी एक वर्षसम्मको समय लिएर डबल हुन सक्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा २१५६ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा १९४० रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा १७६० रुपैयाँसम्म, ०.६१ प्रतिशतको टेवा १५८८ रुपैयाँसम्म र ०.७८ प्रतिशतको टेवा १३३१ रुपैयाँसम्म हुन सक्नेछ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत १४ नोभेम्बरमा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियारस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस सग्निल बनेको छ र हिस्टोग्राम नेगेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्यमा सामान्य करेक्सन हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ र रातो  मारुबुजु क्यान्डलपछि डोजी स्टार बनेको छ। यसले सेयरमूल्यमा उच्च माग आएको र भविष्यमा बढ्न सक्ने बुझिन्छ। योसँगै ब्यान्ड पनि साँघुरिँदै जान्छ भने सेयरमूल्यमा वृद्धि हुन सक्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई  २८ मा रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु २२ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ५६ को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा यो कम्पनीको सेयरमूल्यमा केही करेक्सन भएर बढ्न सक्ने देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। यो कम्पनीको हामीले आओरली बेसका आधारमा पिभट विन्दु निकालेका छौँ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– १६३२  
  • प्रतिरोध २– १६९०
  • प्रतिरोध ३– १७३१

पिभट प्वइन्ट : १५९१

घटेमा सपोर्ट 

  • सपोर्ट १– १५३३
  • सपोर्ट २– १४९२
  • सपोर्ट ३– १४३९

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषणमात्र हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वागत गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।