काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारमा पुनः हरियाली छाएको छ। 

बजार उछाल आउनुका साथै कारोबारको दोस्रो घन्टामा ५ प्रतिशतले बढेसँगै पोजिटिभ सर्किट ब्रेक लागेको छ। योसँगै कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ। 

सेयर बजार खुलेको पहिलो घन्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ। यसैगरी दोस्रो घन्टामा ५ प्रतिशत बजार घटबढ गरेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ भने तेस्रो घन्टामा ६ प्रतिशतले घटबढ भएमा यो दिनको बाँकी कारोबार स्थगित गरिनेछ।

आज बजार १२ः३८ मिनेटमा ५ प्रतिशतले बढेको थियो। योसँगै कारोबार ४० मिनेटका लागि स्थगित गरिएको छ। अब कारोबार १ः१८ मा खुल्नेछ।

यो समयसम्म बजार ११४.२५ अंकले उकालो लागेर २३९५.९३ को विन्दुमा उक्लिएको छ। कारोबार रकम पनि डेढ अर्ब रुपैयाँबराबरको भएको छ। 

अहिलेसम्म नबिल बैंकको सर्वाधिक ७ करोड ६८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

यो अवधिमा २० वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत र १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।