– अर्जुन तिमिल्सिना

काठमाण्डौ । निकै रस्साकस्सीपछि फागुन ८ गते प्रतिनिधिसभामा अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेस भइसकेको छ। अब प्रतिनिधिसभाको अर्को बैठक फागुन १२ गते डाकिएको छ। सोही दिनबाट एमसीसीमाथि छलफल हुने बताइएको छ। 

अहिले एमसीसीको पक्ष र विपक्षमा निकै बहस चलिरहेको छ। सत्ता गठबन्धन दलहरुबीच नै एमसीसीलाई लिएर टकराव सुरु भइसकेको छ। नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने पक्षमा छ भने नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) विपक्षमा उभिने निर्णय गरेका छन्। 

खासगरी एमसीसीले विद्युत प्रसारण लाइन र सडक विस्तारलाई महत्व दिने हुँदा देशको विकासका लागि यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ।

यता सेयर बजारमा पनि एमसीसीका विषयमा निकै चर्चा हुन थालेको छ। केही बजार जानकारहरु एमसीसी पास भएमा यसले नेपालमा उत्पादित विद्युत निर्यातमा सहयोग पुग्ने र यसले देशको अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्ने बताउँछन्। केहीले भने यो अमेरिकाको सैन्य रणनीतिक योजना भएकोले पास गर्न नहुन मत पनि राखेको पाइन्छ। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार एमसीसीले सम्रग देशलाई फाइदा नै हुने बताउँछन्। रौनियार उद्योग, व्यापार तथा पुँजीबजार सबैका लागि राम्रो हुने तर्क गर्छन्। ‘यसले जलविद्युतको विकास हुने र प्रसारण लाइन बन्ने भएकोले विकासको बाटो खुल्छ’, उनले भने। 

रौनियारका अनुसार हालको २ हजार मेगावट विद्युत उत्पादन देशभित्रै खपत भइरहेको छ। ‘अब बाँकी १ हजार ८०० मेगावट उत्पादन हुँदै गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिन आवश्यक रहेकोले एमसीसी ल्याउनु अनिवार्य भएको छ’, उनले भने, ‘एमसीसीले भुक्तानी सन्तुलन पनि मिल्न जाने भएकोले अहिलेको व्यापर घाटा कम हुन्छ।’ 

एमसीसी आएपछि समग्रमा सबै क्षेत्र सकारात्मक हुने हुँदा पुँजीबजारलाई पनि राम्रै हुने रौनियारको भनाइ छ। 

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट एमसीसी पास भएमा तत्काल पैसा नआए पनि यसले नेपाल र पश्चिमा राष्ट्रहरुबीचको सम्बन्ध बलियो बनाउने भएकोले अर्थतन्त्रलाई सहयोग नै पुग्ने बताउँछन्। ‘यसले विश्व बैंक र आईएमएफसँगको सम्बन्ध पनि मजबुत हुन्छ, थप अन्य पैसा पनि आउँछ’, उनले भने, ‘अनि अर्थतन्त्र पनि चलयमान हुन्छ।’

देशको अर्थतन्त्र चलयमान भएमा पुँजीबजारमा सकारात्मक प्रभाव पर्ने बिष्टको दाबी छ।

सरस्वती क्याम्पसका एमबीएम प्रमुख केपी पाण्डे एमसीसीले समग्र अर्थतन्त्र नै भाइब्रेट हुने बताउँछन्। ‘एमसीसी पास भएमा अहिलेसम्म रोकिएर बसेका सबै सानाठूला जलविद्युत आयोजनाहरु बन्छन्’, उनले भने, ‘एमसीसीमार्फत प्रसारण लाइन बन्ने भएकोले नेपालले सहज रुपमा विद्युत निकासी गर्दा अहिलेको विदेशी मुद्राको सञ्चितीमा परेको चाप पनि कम हुन्छ।’

एमसीसीले प्रसारण लाइन बनेसँगै थप जलविद्युत आयोजना निर्माण हुने, रोजगारी बढ्ने र अर्थतन्त्र चलायमान हुन सहयोग पुग्ने पाण्डेयको तर्क छ। ‘अर्थतन्त्र नै सकारात्मक भएपछि पुँजीबजार त्यसै पनि सकारात्मक हुने भइहाल्यो नि’, उनले भने।