काठमाण्डौ । सेयर बजारमा सबैभन्दा बढी हिस्सा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको देखिएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको तथ्यांकले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको सेयर बजारमा हिस्सा सबैभन्दा बढी देखिएको हो। तथ्यांकअनुसार नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६ प्रतिशत रहेको छ। 

त्यसैगरी बजार पुँजीकरणमा जलविद्युत कम्पनीको १०.६ प्रतिशत, लगानी कम्पनीको ७.१ प्रतिशत र उत्पादन तथा प्रशोधन उद्योगको ४.१ प्रतिशत रहेको छ। 

बजार पुँजीकरणमा होटेलको १.४ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.३ प्रतिशत रहेको छ। 

नेप्सेमा फागुनसम्ममा सूचीकृत ६ अर्ब ६१ करोड सेयरको चुक्तामूल्य रु. ६ खर्ब ५१ अर्ब २१ करोड रहेको छ।

फागुन मसान्तमा धितोपत्र बजार पुँंजीकरण रु. ३७ खर्ब ८२ अर्ब ७९ करोड पुगेको छ। अघिल्लो वर्ष फागुन मसान्तमा बजार पुँजीकरण रु. ३३ खर्ब ८७ अर्ब ३४ करोड रहेको थियो। यो हिसाबले बजार पुँजीकरण ३ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँले बढेको छ।