काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज बिहान सेयर कारोबार अवरुद्ध हुँदा लगानीकर्तामा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। तर, नेप्सेले कारोबार समय भने नथप्ने भएको छ। 

आज बिहान ११ बजेबाट नियमित कारोबार खुल्नुपर्नेमा १३ मिनेटसम्म अवरुद्ध भएको थियो। ११ बजेर १४ मिनेटमा मात्रै नियमित कारोबार खुलेको थियो। 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले प्राविधिक समस्याका कारणले १३ मिनेट सेयर कारोबार सञ्चालन हुन नसकेको बताए। ‘प्राविधि समस्या समाधान गरेर सेयर कारोबार खुलेको छ’, उनले भने।

प्रवक्ता पराजुलीले १३ मिनेट कारोबार अवरुद्ध भए पनि समय नथपिने स्पष्ट पारे। ‘यस विषयमा छलफल भएको थियो, छलफलले समय नथप्ने निर्णय गरेको छ’, उनले भने, ‘कारोबार नियमित समयमै बन्द हुनेछ।’