काठमाण्डौ । लगानीकर्ताहरुले सेयर धितो कर्जामा लगाइएको ४–१२ को क्याप फिर्ता लिन नेपाल राष्ट्र बैंकसँग माग गरेको छ। 

लगानीकर्ताका संगठन नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघको नेतृत्वमा गएको टोलीले आज राष्ट्र बैंकमा मागपत्र बुझाउँदै यस्तो माग अघि सारेका हुन्। पत्र ४–१२ को क्यापलगायत ४ बुँदे माग अघि सारिएको छ। 

सेयर धितो कर्जामा लगाइएको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले यो व्यवस्थालाई फिर्ता गर्न राष्ट्र बैंकसमक्ष लगानीकर्ताहरुले माग गरेका छन्।

यसैगरी आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न पनि राष्ट्र बैंकसमक्ष माग गरिएको छ। 

मर्जर र प्राप्तिले सेयर कारोबार रोकिँदा आमलगानीकर्ताको चल–अचल सम्पत्ति बन्धक भई नोक्सानी र राज्यले पाउने राजस्वमा समेत नकारात्मक असर परिरहेकोले उक्त कार्य हाल बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभाका लागि दाखिला खारेज गर्ने व्यवस्था गरेजस्तै गरी केही सीमित अवधिका लागिमात्रै कारोबार रोक्का रहने व्यवस्था गर्न पनि लगानीकर्ताहरुले माग गरेका छन्।

यसैगरी देशमा विद्यमान तरलता समस्याले अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना भएकोले राष्ट्र बैंकजस्तो गरिमामय संस्थाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्नुपर्ने पनि मागपत्र उल्लेख छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मागपत्र राष्ट्र बैंकका गभर्नरको सचिवालयमा बुझाइएको बताए। ‘कार्यव्यस्तताका कारण गभर्नर महाप्रसाद अधिकारीसँग भेट हुन सकेन, उहाँ फोनमा अनौपचारिक कुराकानी भयो’, उनले भने, ‘त्यसैले हामीले हाम्रा मागपत्र उहाँको सचिवालयमा बुझाएर आएका छौँ।’