काठमाण्डौ । पुँजीबजार सुधार र विकासका लागि आन्दोलनरत सेयर लगानीकर्ताहरुले आज नेपाल राष्ट्र बैंकअगाडि प्रदर्शन गर्ने भएका छन्। 

गत जेठ २० गतेदेखि पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा १९ बुँदे माग अघि सार्दै लगानीकर्ताहरु आन्दोलरत छन्। यही क्रममा आज बालुवाटारस्थित राष्ट्र बैंकअगाडि प्रदर्शन गरिने स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले बताए। ‘आज मध्याह्न साढे १२ बजे भाटभटेनीमा भेला भएर १ बेज राष्ट्र बैंक पुग्ने कार्यक्रम छ’, उनले भने। 

अध्यक्ष कार्कीका अनुसार राष्ट्र बैंकअगाडि प्रदर्शन गर्नुका साथै त्यहाँ १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि रहेको छ। 

उता संघर्ष समितिका संयोजक तिलक कोइरालाको आज आमरण अनशनको पाँचौँ दिन हो। उनी गत असार १ गतेदेखि खुमलटारस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर आमरण अनशन बसेका छन्।

लगानीकर्ताहरुले सेयर धितोकर्जामा राष्ट्र बैंकले लगाएको ४-१२ करोडको क्यापको खारेजी, गभर्नरको राजीनामा, ब्रोकरहरुको सेवा विस्तार तथा बैंकलाई ब्रोकर लाइसेन्स, पूँजीगत लाभकरमा समयसापेक्ष समायोजन, विगतमा भएका सम्झौताको अक्षरंश कार्यान्वयनलगायत बजारसँग सम्बन्धित समस्या समाधानको माग राख्दै आएका छन्।