काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पुँजीबजार सुधार र विस्तारका लागि लगानीकर्ताहरुले गरिरहेको आन्दोलनप्रति आफूहरुको साथ र समर्थन रहेको बताएका छन्। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाहिर आमरण अनशनरत तिलक कोइरालालाई बुधबार भेट्न पुगेको मेयर साहले आन्दोलनप्रति आफूहरुको ऐक्यबद्धता रहेको बताए हुन्। 

साहले पुँजीबजारसँग सम्बन्धित कुनै पनि निकायले नीति ल्याउँदै त्यससँग सरोकार राख्ने लगानीकर्ता वा तिनका संघसंगठनसँग परामर्श गर्नुपर्ने पनि बताए। ‘त्यस्ता नीतिनियम अर्थतन्त्रमा के–कस्तो प्रभाव पार्छ भनेर सरोकारवालाहरु परामर्श गर्नुपर्छ’, उनले भने।

पुँजीबजारलाई अनुत्पादनशील क्षेत्र भन्नु गलत रहेको साहको भनाइ छ। ‘यो उत्पादनशील क्षेत्र हो’, उनले भने, ‘लाखौँ मानिसले घरमै बसेर कुनै पनि प्रोजेक्टमा लगानी गर्न सक्छ। सरकारले सबै प्रोजेक्टमा लगानी गर्न सक्दैन, स्थानीय सरकारले पनि सक्दैन, केही प्रतिशत सर्वसाधारणलाई पनि छुट्याउनुपर्छ।’

नेपाल विकासोन्मुख देश रहेको उल्लेख गर्दै साहले पुँजीबजारबाट ठूलठूला जलविद्युत आयोजनाहरुमा लगानी जुटिरहेको बताए। ‘सरकारले आफैँले जलविद्युत आयोजनाहरु बनाउने कोसिस गरेको भए आज हामी लोडसेडिङको मार पथ्र्यौं’, उनले भने, ‘तर, सर्वसाधारणकै लगानीमा धेरै जलविद्युत आयोजना बनेका छन्, हामी लोडसेडिङमुक्त भएका छौँ।’

त्यसैले सरकारले बेलैमा पुँजीबजारका लगानीकर्ताहरुको माग सम्बोधन गर्नुपर्ने साहले बताए। ‘नेप्से घट्यो भनेर लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका होइनन्, बजार सुधारका आन्दोलनमा उत्रिएका हुन्’, उनले भने, ‘त्यसैले सरकारले लगानीकर्ताहरु माग पूरा गर्न समन्वय गर्न आवश्यक छ। सबै निकायले लगानीकर्ताहरुका मागका विषयमा परामर्श गर्नुपर्छ।’