काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार भारतीय सेयर बजारले नयाँ कीर्तिमान बनाएको छ। आज भारतीय सेयर बजार हालसम्मकै उच्च विन्दु चुमेको हो। 

आज सेन्सेक्स २११ अंकले बढेर ६२५०४ मा विन्दुमा बन्द भएको छ। निफ्टी ५० अंकको उछालका साथ १८५६२ को विन्दुमा बन्द भउको छ। बैंक निफ्टी पनि फेरि ३६ अंकले बढेर ४३०२० को विन्दुमा बन्द भएको छ। 

कारोबारका क्रममा सेन्सेक्स ६२७०१ को विन्दुमा र  निफ्टी १८३१४ को विन्दुमा पुगेको थियो। जुन हालसम्मकै उच्च हो। 

आज भारतीय सेयर बरमा तेल तथा ग्यास परिसूचकमा १.६० प्रतिशत, अटोमा ०.६१ प्रतिशत र एफएमसीजी परिसूचकमा ०.३४ प्रतिशतले वृद्धि भएको छ। मेटल परिसूचकमा १.१४ प्रतिशतको गिरावट आएको छ।

सेन्सेक्सको शीर्ष ३० मा १५ वटा सेयर बढेको छ र १५ वटाको घटेको छ। आजको रिलायन्स, नेस्ले इन्डिया, एसियन पेन्ट्स, बजाज फाइनान्सियल सर्भिस र विप्रोको सेयरमा उछाल आएको थियो। टाटा स्टिल, एचडीएफसी बैंक, भारती एयरटेल र एचडीएफसी सबैभन्दा बढी गिरावट देखिएको छ। रिलायन्सको सेयरभाउमा ३.४८ प्रतिशतको उछालको छ। 

भारतीय सेयर बजारले नयाँ उचाइ कायम गर्दा नेपाल सेयर बजार भने आज दोहोरो अंकले ओरालो लागेको छ। 

विभिन्न नीतिगत व्यवस्थाका कारण नेपाल सेयर बजार पछिल्लो १५ महिनादेखि प्रभावित बनिरहेको छ। पछिल्लो केही समयदेखि भने बजार सामान्य अंकले तल–माथि भइरहेको छ। 

नेपालको सेयर बजार गत वर्ष भदौमा अलटाइम हाई पुगेको छ। त्यसपछि भने निरन्तर ओरालो लागेको थियो। 

बजार जानकार दामोदर गजुरेल नेपालको सेयर बजारले आउँदो नयाँ वर्षबाट बुलिस ट्रेन्ड समात्न सक्ने बताउँछन्। ‘अझै २–४ महिना सेयर बजार साइडवेजमै चल्न सक्छ, यो अवधिमा सेयर एकुमुलेट हुन सक्छ’, उनले भने, ‘नयाँ वर्ष २०८० को सुरुआतबाट भने बजारले बुलिस ट्रेन्ड समात्न सक्छ।’

बजारको इतिहास हेर्दा पनि नेपालको सेयर बजार २ वर्ष बुलिस र २ वर्ष बियरिस हुने गरेको गजुरेलको भनाइ छ। ‘त्यसैले सबै कुरा अनुकूल भएको खण्डमा नयाँ वर्षबाट बजार माथि नै जाने सम्भावना छ’, उनले भने। 

अब विस्तार तरलता सहज हुँदै जानु, अर्थतन्त्र पनि ट्रयाकमा आउन थाल्नु र पुँजीबजार विकास र विस्तारका काम पनि भइरहेकोले नेपालको सेयर बजारले २०८१ सालसम्म अलटाइम हाई ब्रेक गर्ने सम्भावना रहेको गजुरेल बताउँछन्। ‘त्यसपछि बजार अलटाइम हाई ब्रेक गर्दै ४५०० को विन्दुसम्म पुग्न सक्छ’, उनले भने। 

राजनीतिक स्थिरतासँगै नियामकले पुँजीबजारमैत्री नीतिनियम ल्याएको खण्डमा बजार अनुमानित समयभन्दा अगावै उच्च विन्दुमा पुग्न सक्ने गजुरेलको भनाइ छ।