काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समितिको बैठकले सेयर कारोबार गर्न मिल्ने मोबाइल एप सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको छ। 

केही दिनअघि नेप्से सञ्चालक समितिको बैठकले मोबाइल एप सञ्चालनमा ल्याउने स्वीकृति प्रदान गरेको हो। ‘नेप्सेको बोर्ड बैंकले स्वीकृति प्रदान गरिसकेकोले अब छिट्टै मोबाइल एप सञ्चालनमा सोहीअनुसार काम गरिरहेको छ’, नेप्से स्रोतले भन्यो।

नेप्सेका एक अधिकारीका अनुसार हाल सञ्चालनमा रहेको टीएमएसमा रहेकै फिचरहरु यो मोबाइल एपमा हुनेछन्। ‘हालको टीएमएस इन्टरनेट ब्राउजरबाट गएर खोल्नुपर्ने मोबाइलमा त्यति सपोर्ट गर्दैन’, ती अधिकारीले भने, ‘तर, मोबाइल एप नै बनेपछि भने सीधै आफ्नो ब्रोकर छानेर युजर आईडी र पासवर्ड हालेपछि सेयर कारोबार गर्न मिल्छ।’

मोबाइल एपमा ड्यासबोर्ड, मार्केट वाच लाइभ, वाचलिस्ट, अर्डर बुक, ट्रेड बुक, डीपी होल्डिङलगायतका फिचरहरु हुने ती अधिकारीले बताए। ‘अहिले इलिमेन्ट्री लेबलमा टीएमएसमा रहेका यिनै फिचरहरुलाई समावेश गरिएको छ’, ती अधिकारीले भने, ‘पछि आवश्यकता देखिएमा पेमेन्ट गेटवेलगायत अन्य फिचरहरु समावेश गर्दै लान सकिन्छ।’

सेयर कारोबारलाई मोबाइल फ्रेन्डली बनाउनका लागि मोबाइल फ्रेमवर्कमा ल्याउन खोजिएको ती अधिकारीले बताए। ‘मोबाइल एप आएपछि सेयर कारोबार गर्न लगानीकर्ताहरुलाई झनै सहज हुनेछ’, ती अधिकारीले भने।

हाललाई उक्त मोबाइल एप एन्ड्रोइडमा मात्रै चल्ने बताइएको छ। पछि आईओएसमा पनि चलाउन मिल्ने बनाउने योजना नेप्सेको छ। 

उक्त मोबाइल एप वाइकोले निर्माण गर्दैछ। ‘हालको टीएमएस पनि वाइकोले बनाएकोले सेक्युरिटीका हिसाबले थर्ड पार्टीलाई मोबाइल एप बनाउने जिम्मा नदिइएको हो’, ती अधिकारीले भने, ‘यो युनिर्भल एप हुनेछ। ब्रोकरैपिच्छे फरक एप हुँदैन। प्रयोगकर्ताले मोबाइल एपमा आफ्नो ब्रोकर छनोट गरी कारोबार गर्न सक्नेछन्।’

उक्त मोबाइल एप पुस २९ गते नै लन्च गर्ने लक्ष्य राखिएको थियो। ‘तर, प्राविधिक कारणले लक्ष्य पूरा हुन सकेन’, ती अधिकारीले भने, ‘मोबाइल एप परीक्षण गरेर सञ्चालनमा ल्याउन १ महिनाजति लाग्ला।’

यसै वर्षभित्र मोबाइल एप सञ्चालनमा ल्याउने टार्गेट राखिएको पनि ती अधिकारीले जानकारी दिए। 

वाइकोका एक अधिकारीले आफूहरुले मोबाइल एपको काम लगभग सकेको बताए। ‘अब नेप्सेले कहिलेबाट सञ्चालन गर्ने हो, त्यो उहाँहरुकै कुरा हो’, उनले भने।