काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर कारोबार लागत घटाउने नीति लिएको छ। 

सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेयर कारोबार लागत घटाउने विषयलाई समेटेको हो। 

धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पुँजीमा पहुँच तथा कारोबारमा वृद्धि गर्न धितोपत्र बजार तथा व्यवसायीहरुले लिने शुल्क सम्बन्धमा अध्ययन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। 

यो नीतिअनुसार सेबोनले सेयर कारोबारका क्रममा लगानीकर्ताले ब्रोकरलाई तिर्ने कमिसन, मर्चेन्ट बैंकिङ लिने शुल्क, नेप्सेले पाउने कमिसनलगायतका विषयमा अध्ययन गर्ने तयारी गरेको हो। लामो समयदेखि लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउनुपर्ने आवाज उठाउँदै आएका छन्। 

सेबोनका एक अधिकारीले लगानीकर्ताहरुको माग सम्बोधन गर्न चालु आर्थिक वर्षको कार्यक्रम तथा नीतिमै सेयर कारोबार लागत घटाउने विषयमा अध्ययन गर्न लागिएको बताए। ‘सम्भवतः चालु आर्थिक वर्षमै ब्रोकर कमिसनलगायत सेयर कारोबारको लागत घट्नेछ’, उनले भने।