काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को कारोबार प्रणालीमार्फत सिर्जित तथ्याङ्कहरुको गैरकानूनी प्रयोग बढेको छ । 

तथ्याङ्कमा अनिधकृत पहुँच स्थापना गरी गैरकानूनी प्रयोग बढेपछि नेप्सेले एक सूचना प्रकाशित गरी त्यस्ताविरुद्ध कानूनी कारबाहीको प्रक्रिया जाने चेतावनी दिएको छ । 

‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली मार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक प्रयोगकर्ताले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा (४) अनुसार निवेदन दिनु हुन यो सूचना प्रकाशित गरिएको छ । साथै अनाधिकृत रुपले नेप्सेका तथ्यांकहरुको प्रयोग नगरीदिनु हुन सम्पूर्ण प्रयोगकर्तालाई अनुरोध गरिन्छ ।’ नेप्सेले मंगलबार एक सूचना प्रकाशित गर्दै भनेको छ–‘यसरी अनाधिकृत रुपले नेप्सेको तथ्यांकहरुको प्रयोग गरे/गराएको पाईएमा नेप्से कानूनी कारबाहीको प्रक्रियामा जान बाध्य हुने सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’ 

नेप्सेका अनुसार ‘प्रयोगकर्ता’ भन्नाले “नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ अनुसार नेप्सेको प्रणालीमा सिर्जित तथ्यांक प्रयोग गर्ने लगानीकर्ता, तथ्याङ्क व्यापारी, वित्त विश्लेषक, औजार विकासकर्ता, सञ्चारमाध्यम, विद्यार्थी, गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्था” सम्झनु पर्दछ । तथ्याङक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ नेप्सेको वेभसाईटमा प्राप्त गर्न सकिने समेत सूचनामा उल्लेख छ ।