काठमाण्डौ । धितोपत्र बोर्डको अपरिपक्व निर्णयका कारण सेयरको दोश्रो बजारमा कसरी सेयरको आपूर्ति ह्वात्तै बढेको छ भन्ने कुरा नेपाल राष्ट्रबैंकको एउटा तथ्यांकले देखाएको छ । 

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको देशको प्रमुख वित्तीय तथा आर्थिक सूचकको विषयमा प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यस्तो देखिएको हो । 

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै १९ अर्ब ३५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ । 

यसमध्ये १७ अर्ब ३२ करोड बराबरको साधारण सेयर बिक्री भएको छ भने १ अर्ब २० करोड बराबरको हकप्रद सेयरमा जनताले लगानी खन्याएका छन् । 

यो अवधिमा ८२ करोड ६० लाख बराबरको बोनस सेयर पनि सूचीकृत भएको छ । 

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले २ अर्ब ५ करोड बराबरको साधारण सेयर, १ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड र १ अर्ब २० करोड बराबरको डिवेञ्चर गरी कुल ४ अर्ब ७५ करोड बराबरको  धितोपत्रको सार्वजनिक निश्कासनका लागि अनुमति दिएको छ ।