काठमाण्डौ । सेयर बजारमा उछालको गति देखिएको छ । दिउँसो १ बजेसम्मको कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकम पनि ४० करोड ६२ लाख भन्दा माथि पुगेको छ । यही हिसाबले हेर्ने हो भने बजार बन्द हुँदासम्म कारोबार रकम १ अर्बको नजिक पुग्ने देखिएको छ । 

कारोबार खुलेको पहिलो २ घण्टामा(१ बजेसम्म) नेप्से परिसूचक २६  अंकले बढेको छ । 

‘क वर्गका कम्पनीहरुमा खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ४.९८ प्रतिशतले वृद्धि भएको छ । दिउँसो १ बजेसम्म माइक्रोफाइनान्स, बिमा र जलविद्युत समूहमा उछाल देखिएको छ । माइक्रोफाइनान्स समूहको सूचक ७.२७ प्रतिशतले वृद्धि भइसकेको छ भने बिमा समूह ४.५८ प्रतिशत र जलविद्युत समूह ३.६७ प्रतिशतले बढेको छ । होटल समूह करिब ३ प्रतिशत  र विकास बैंक समूह करिब २ प्रतिशतले बढेको छ । बैकिङ समूहमा १ प्रतिशतको हाराहारीमा बढोत्तरी देखिएको छ । 

पहिलो २ घण्टामा सूर्या लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै कारोबार गरेको छ । यो कम्पनीको २ करोड ५६ लाख बढीको सेयर कारोबार भइसकेको छ ।