काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै लाभकर लगाउने आन्तरिक राजश्व विभागको सर्कुलर स्थगन गराउन सफल लगानीकर्ताका तीन संगठनबीच एकीकरणको अभ्यास सुरु भएको छ ।
आन्दोलनको क्रममा आम सर्वसाधारण लगानीकर्ताले एउटै मुद्धा र उही उद्देश्य बोकेर धेरैथरि संगठन खोल्नु भन्दा बरु एक भई एउटै बलियो संगठनको आवश्यकतामाथि जोड गर्दै नेताहरुलाई पहलकदमी लिन आग्रह गरेपछि तीनै संगठनका अधिकारी एकीकरण गरी बलियो लगानीकर्ता संघ बनाउने गृहकार्यमा लागेका हुन् ।
नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र पूँजीबजार लगानीकर्ता संघको अगुवाईमा आन्दोलन भएको थियो । अर्थमन्त्रालयले समेत हरेक वार्तामा यी तिनैवटा संघहरुलाई निमन्त्रणा गर्ने गरेको थियो । तर, यो आन्दोलनकै बीचमा लगानीकर्ता हित संरक्षण मञ्च नामको अर्को संगठन समेत जन्मिएको थियो ।
प्रत्येक लगानीको समूहपिच्छे र झुण्डपिच्छे धेरैवटा संगठन बनेर लगानीकर्ता विभाजित हुनुभन्दा एउटै बलियो संगठन बनाउनु ठीक रहेकोमा तीनवटै संगठनका पदाधिकारी लगभग सहमत जस्तो देखिएका छन् ।
आन्दोलन सफल भएलगत्तै बुधबार साँझ पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष नवराज सुवेदीले सामाजिक सञ्जालमार्फत बलियो र एउटै लगानीकर्ता संघ बनाउनुपर्ने भन्दै सार्वजनिक आह्वान नै गरेका छन् । उनले फेसबुकमार्फत भनेका छन्–‘अब आगामी दिनमा बिभाजित भयेर हैन, एकताबद्ध ढंगले पूँजीबजार पूर्वाधारमैत्री र प्रविधिमैत्री बनाउनेतर्फ अग्रसर हुनुपर्दछ । तसर्थ, अब हामी आम लगानीकर्ताको एउटै मात्र संघ, ब्रोकर र लगानिकर्ताबीच सौहार्दपूर्ण सम्बन्ध, सरोकार पक्षबीच निरन्तर छलफल जस्ता गतिविधि अगाडि बढाउनुपर्दछ । मेरो एउटै आग्रहः लगानीकर्ताको एउटै संघ बनार अगाडि बढौं ।’
अध्यक्ष सुवेदीले बिजशालासँग कुरा गर्दै आन्दोलनकै दौरानमा अधिकांश लगाीनकर्ताले समेत एउटै बलियो संघ बनाउन आग्रह गरेका उल्लेख गर्दै भने–‘हामीले अनौपचारिक रुपमा यो बिषयमा कुरा समेत अगाडि बढाएका छौ । सबै संघका साथीहरु सहमत हुनुहुन्छ, अब यसलाई तार्किक निश्कर्षमा पुर्याउने काम मात्र बाँकी हो ।’ उनले देशमा मिल्नै सक्दैनन् भनिएका पार्टी त एक भए भने एउटै उद्देश्य बोकेका लगानीकर्ताबीच एक हुन नसक्ने कारण नै नरहेको दाबी गरे ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले समेत आफूहरु एउटै बलियो लगानीकर्ता संघ गठनको पक्षमा रहेको प्रष्ट पारे । आफूहरुबीच यो बिषयमा औपचारिक कुराकानी भइरहेको उल्लेख गर्दै उनले भने–‘उद्देश्य एउटै र बाटो एउटै भएपछि धेरै संघ किन चाहियो ? एउटै बलियो संघ भए राम्रो हुन्छ भन्ने कुरामा हाम्रा अध्यक्ष जी र साथीहरु समेत सहमत हुनुहुन्छ ।’ उनले यो विषयमा आगामी दिन छलफललाई घनिभूत बनाएर सबैलाई एउटै छातामुनि ल्याउन पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फूल्लेलले सबैले लगानीकर्ताको स्वार्थलाई महत्व दिएर अगाडि बढ्ने हो भने एउटै बलियो संघ हुँदा धेरै राम्रो हुने धारणा राखे । ‘विगतमा हाम्रा इन्ट्रेस्ट फरक भए र अलग अलग संगठन भए ।’ उनले भने–‘यदि लगानीकर्ताको हित नै सबैको चाहना हो भने एउटै बलियो संगठन हुनु नै राम्रो हो ।’
लगानीकर्ताको हितका लागि विभाजित भएर हिँड्नुभन्दा एक भएर हिँड्नु नै हितकर हुने उल्लेख गर्दै उनले बिजशालासँग अगाडि भने–‘तर, यो बिषयमा संगठनहरुबीच छलफल चाहि सुरु भइसकेको छैन ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19