काठमाण्डौ । लगानीकर्ता मौद्रिक नीतिको प्रतिक्षामा बस्दा र हकप्रद तथा बोनस सेयरमा लाग्ने लाभकरको बिषयको अन्यौल तत्काल अन्त नहुने देखिएपछि लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । जसको नकारात्मक प्रभाव बजारमा देखिएको छ । 

बैंकहरुले ब्याजदर नियन्त्रणमा भद्र सहमति गरेको र प्रणालीमा  तरलता समेत प्रशस्त रहेको अवस्थामा समेत बजारले गति लिन सकेको छैन । यसको मुख्य कारण मौद्रिक नीतिको व्यग्र प्रतिक्षा नै हो । लगानीकर्ताहरुले मौद्रिक नीतिले बजारमा उत्साह भर्ने आशा गरेका छन् । सेयर धितोकर्जाको सीमा बढ्ने, बजार बिस्तारका लागि अन्य नीतिगत व्यवस्था समेत हुने आशामा लगानीकर्ता प्रतिक्षारत छन् । तर, उनीहरुले प्रतिक्षा गरेजस्तो बजार बुस्ट हुने हिसाबको नीति आउने संभावना निकै कम छ । राष्ट्रबैंकका जिम्मेवार अधिकारीहरुले सेयर धितो कर्जाको सीमा नबढ्ने दाबी गरिरहँदा सेयर बजारकै लागि भनेर स्पष्ट नीति आउला भनेर आशा गर्ने संभावना समेत न्यून छ, यसले बजारलाई आगामी दिनमा अझ बढी गिरावटतर्फ धकेल्न सक्नेछ । 

त्यसो त पछिल्लो समय संस्थागत लगानीकर्ताहरु दोश्रो बजारमा लगानी गर्न डराइरहेका छन् । कतिपयले गैरकानूनी रुपमा बैंकहरुको मुद्धतीमा पैसा राखेका छन् भने कतिपयले प्राथमिक बजारमा ठूलो परिमाणमा पैसा हालेका छन् । प्राथमिक बजारमा एकपछि अर्को लगानीको विकल्प खुल्न थालेकोले समेत दोश्रो बजार केही प्रभावित भएको देखिन्छ । 

विश्लेषकहरुले बजार सूचकलाई हेरेर लगानी गर्ने प्रवृति कायम रहेसम्म लगानीकर्ताले दोश्रो बजारबाट कमाउने संभावना कम हुने बताउँछन् । उनीहरुले लगातार बजारलाई नभई कम्पनी विशेषलाई हेरेर लगानी गर्न आह्वान गरिरहेका भए पनि लगानीकर्ताहरु भने हल्लाको पछि लागेर लगानी गर्दा अनावश्यक दुःख पाइरहेका छन् । 

के-के भयो सोमबार ?
सोमबार नेप्से परिसूचक ९.७२ अंकले घटेर १२१०.०९ को विन्दूमा सीमित हुन पुग्यो । ‘क’ वर्गका कम्पनीहरुमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स २.०७ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि ०.७७ अंकको गिरावट देखियो । 

यो दिन होटल समूह २.२६ अंकले बढ्यो भने उत्पादनमूलक समूहमा १.८६ अंकको झिनो बढोत्तरी देखियो । बाँकी सबै समूहको सूचकमा रातो पोतियो । 

यो दिन बैंकिंग समूह ८.११ अंकले घट्यो भने विकास बैंक समूह १०.२९ अंक, बिमा समूह ७९.७६ अंक, जलविद्युत समूह १७.१२ अंक, माइक्रोफाइनान्स समूह १३.७५ अंक, अन्य समूह ३.१ अंक तथा बित्त समूह ०.९४ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५८ कम्पनीका ५ लाख ७४ हजार ७ सय ८१ कित्ता सेयर १८ करोड ५१ लाख ७० हजार ५३ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी समता माइक्रोफाइनान्सले ८९ लाखको हाराहारीमा कारोबार गर्यो । यसैगरी, नेपाल एसबीआई बैंकले ६५ लाख, नेपाल बंगलादेश बैंकले ६४ लाख, ग्रामीण विकास लघुवित्त बित्तीय संस्थाले ५९ लाख, सेञ्चुरी कमर्सियल बैंकले ५३ लाख, सिटिजन्स बैंकले ५२ लाख, मेगा बैंकले ५० लाख, स्ट्याण्डर्ड चार्टर्डले पनि ५० लाख, नेपाल बैंकले ४९ लाख तथा इन्भेष्टमेन्ट बैंकले ४८ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.४५ प्रतिशतले वृद्धि भयो । यस्तै, नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले समेत ५ प्रतिशतको हाराहारीमा कमाए । 

यो दिन जेबिल्स फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ७.४० प्रतिशतले घट्यो । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले समेत ७.३७ प्रतिशतले सम्पत्ति गुमाए ।