Uttam Aryal
-भक्तराज रसाइली
काठमाण्डौ । जागिरे जीवन र व्यवसायलाई पर पन्छाउँदै सेयर बजारमा सक्रिय एक पात्र उत्तम अर्यालको कथा निकै चाखलाग्दो छ ।
काठमाण्डौ–१४ कलंकीका रैथाने अर्याल २०७३ सालमा स्थापित सेयर लगानीकर्ता संघका अध्यक्ष हुन् । उनको भद्र र सरल जीवनशैली, मीठो बोली र मिजासिलो व्यवहारको सेयर लगानीको क्षेत्रमा पृथक पहिचान र चर्चा हुने गर्छ । तर, यसपटक तिनै भद्र नेताले बिजशालासँगको विशेष कुराकानीमा सेयर बजारमा प्रवेशदेखि हालसम्मको आफ्नो जीवनगाथा बताउँदै बजारमा खेल्ने तत्वहरुको विषयमा निकै सनसनीपूर्ण खुलासा समेत गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणमा जुनियर असिस्टेन्ट पदबाट २०४५ सालमा जागिरे जीवन थालेका अर्यालले २०५३ सालमा जागिर छाडे । त्यसपछि अफिस स्टेशनरी सम्बन्धी ठेक्कापट्टामा लागेका उनले २०५३ सालबाटै सेयर बजारमा समेत हात हाल्न पुगे । ठेक्कापट्टालाई पनि छाडेर उनले २०६२ सालमा सेयर बजारलाई नै आफ्नो मुख्य पेशा बनाएर सक्रिय बने ।
नेपाल इन्भेष्टर्स फोरमका संस्थापक सदस्यसमेत रहेका अर्याललाई फोरमको गतिविधिप्रति वितृष्णा जागेर विशुद्ध राजनीतिबाट बाहिर रहेको संघ स्थापना गरी नेपालको पूँजीबजारको विकास तथा विस्तारमा हातेमालो गर्न २०७३ सालमा आफ्नो अध्यक्षतामा सेयर लगानीकर्ता संघ जन्माए ।
मध्यम पारिवारिक पृष्ठभूमिबाट आएका अर्यालमा सेयरमा लगानी गर्ने ठूलाबडाले मात्र होला, सर्वसाधारणले होइन कि भन्ने गलत धारणाले घर गरेको रहेछ कुनैबला । बिस्तारै उनले सेयर बजारलाई बुझ्न थाले । थोरै पैसा हुनले समेत बजारमा लगानी गर्न सकिने बुझेपछि उनले डिल्लीबजारमा रहेको सेयर खरिदबिक्री केन्द्रमा धाएको र कारोबारका लागि आफूलाई तयार गर्न पूरा गर्नुपर्ने प्रक्रियाका झञ्झटिलो विगत समेत उनले सम्झिए ।
प्राथमिक बजारबाटै प्रवेश गरेका उनले हिमालयन बैंकको २५ कित्ता सेयर हात परेपछि उनमा सेयरको नशा चढ्दै गयो । दोस्रो बजारमा चाहिँ उनले नेपाल सरकारको मातहतमा रहेको नेपाल विकास बैंकको २५ हजार कित्ता प्रमोेटर सेयर प्रतिकित्ता १ सय १२ मा खरिदसँगै प्रवेश गरेका थिए । सो सेयर प्रभू बैंकले प्रतिकित्ता १७ रुपैयाँ मात्र दिएकाले सेयर बजारमा लागेर सबैभन्दा धेरै गुमाएको तीता क्षण समेत उनले सम्झिए । राज्यप्रति आँखा चिम्लिएर विश्वास गरी सो बैंकको सेयर खरिद गर्दा निकै ठूलो घाटा व्यहोर्नु परेको अर्याल बताउँछन् ।
सेयर बजारमा सीमित स्रोतसाधन परिचालन गरेर भनेको बेलामा आवश्यक सूचना पाउन सकिएन भने राम्रो प्रतिफलको सपना, सपनामै सीमित हुने उनको अनुभव छ ।
टाठाबाठा, सरकारी निकायका पदाधिकारीबाट नीतिगत भ्रष्टाचार हुने गरेको र तिनै निकायहरुबाट सेयर बजारमा सोझा लगानीकर्ताहरुलाई डुबाउने खेल हुने गरेको उनको आरोप छ ।
बजारमा खेल्ने तत्वप्रति सरकार चनाखो नभइदिँदा वा बेवास्ता गरिदिंदा समेत यसले विकराल रुप धारण गरिरहेको र यस्ता तत्व सक्रिय भइदिंदा बजारबाट कमाउनेभन्दा गुमाउनेको संख्या धेरै भएको उनको दाबी छ ।
‘पछिल्लो समयमा पनि २/४ वटा स्क्रिप्टमा ती तत्वहरुले खेल्न लाग्दा बजारमा त्यो गतिविधि छर्लङ्ग भयो।’अर्यालले भने–‘शिवम् सिमेन्टको उदाहरण नै हामीसामु प्रष्ट छ । त्यसकारण बजारमा आउनेले १० पटक सोचेर मात्र लगानी गर्नुपर्छ । तीव्र चलखेल हुँदा समेत नियमनकर्ता टुलुटुलु हेरेर बस्छ । लगानीकर्ता स्वयम् यस्ता तत्व र प्रवृत्ति प्रति चनाखो भई निरुत्साहित गर्नुपर्दछ।’
आफूसँग २०६३ सालमा किनेको नेपाल लाइफ इन्स्योरेन्सको प्रतिकित्ता २ हजारका दरले ५ सय कित्ता सेयर हाल ४० हजार कित्ता बनाइसकेको रोचक प्रसङ्ग सुनाउँदै संसारमा धनी भएका व्यक्तिहरुले सेयर र रियलस्टेटबाटै कमाएर त्यो ठाउँमा पुगेको बताए ।
‘सेयर बजारलाई विद्वानको घर पनि भनिन्छ।’अर्यालले भने–‘रमाइलो पारामा जिन्दगी बित्छ यहाँ । कम्पनीको अध्ययन र विश्लेषण गर्दा अझ आनन्द महसुस हुन्छ । साँच्चै भन्नुपर्दा मलाई चाहिँ बडो रोमाञ्चक क्षेत्र लाग्छ।’
सरकार, नियमनकर्ता र नेप्सेमा सूचीकृत कम्पनीहरु इमान्दार हुने हो भने पूँजीबजार सबैका लागि कमाइ हुने क्षेत्र हुने उनको धारणा छ ।
अन्तर्राष्ट्रिय मान्यताअनुरुप कम्पनीहरुका इपीएस, पीई रेसियो, कम्पनीको पोर्टफोलियो, कम्पनीका आगामी कार्यक्रमहरुबारे विस्तृत अध्ययन र विश्लेषण गरे कहिल्यै नोक्सानी व्यहोर्नु नपर्ने उनको ठहर छ ।
तर, नेपालको सन्दर्भमा पूँजी बजारका विषयमा निर्माण भएको नीतिहरुमा नीति निर्माताहरुले नै चरम चलखेल गरी घोटाला गर्ने गरेका उनको आरोप छ ।
कुनै नीतिनियम बनाउँदा व्यापक छलफल र अन्तरक्रिया गरी कम्तीमा ५ वर्ष परिवर्तन नहुने गरी बनाइनुपर्ने उनको सुझाव छ ।
आफूले सेयर बजारमा ३ वटा बूल र ३ वटा वियरिस देखेको उल्लेख गर्दै नेपाल बैंकको सेयर प्रतिकित्ता ४ हजार २ सयसम्म पुगेको घटना समेत सुनाए ।
सेयर बजारमा रहेको बुल र वियरिसको विषयमा उनको निजी धारणा चाहि केही फरक रहेछ । नेपालको सेयर बजारमा बुल र वियरिस चक्र नै नहुने उनको दाबी छ । बुल र वियरिस संगठित तत्वले ल्याएको प्रवृति भएको भन्दै सरकारी नीति निर्देशनबाट नै बुल र वियरिसको गति निर्धारण हुने उनको भनाई छ ।
नेपाल राष्ट्र बैंकबाट नेप्से १८८१ हँुदा मार्जिन लेण्डिङ्गको सीमा ५० प्रतिशतमा झारेपछि नेप्से इण्डेक्स झर्यो र ब्याजदर निर्धारक राष्ट्र बैंकले नै बजार तलमाथि गर्दै आएको छ ।’उनले भने–‘सीमित व्यक्तिको स्वार्थ र तत्वहरुले राज्यको संयन्त्रकै कारण बजार तलमाथि हुने गरेको छ ।’ उनले नेप्सेले सुरु गर्न लागेको मार्जिन लेण्डिङ्गको प्रडक्ट ब्रोकरको मात्र हित हुने गरी लागू गरिएमा लगानीकर्ताहरुले हङ्गामा गर्ने चेतावनी दिए ।
‘तत्व भन्नाले को–को हुन् नि ?’ भन्ने बिजशालाको जिज्ञासामा अर्याल भन्छन्–‘ती तत्वहरु तपाईँ हामीमा नै पलाएको हुनसक्छ । तपाई नै पनि हुन सक्नुहुन्छ म पनि । प्रवृत्तिले फाइदा लिन खोज्दा यो मौलाएको हो । तत्व त हाम्रै मानसिकता र मनोबलको उपज पनि हो।’
सेयरबजारबाट कति कमाउनुभयो भन्ने हाम्रो प्रश्नमा उनले खुलेर जवाफ दिन चाहेनन् । भने–‘पूँजी बजारमा पूँजी निर्माणमा योगदान गरेको छु र व्यक्तिगत पहिचान र प्रतिष्ठालाई नै अहिलेसम्मकै ठूलो प्रतिफल मानेको छु।’
नीतिनिर्मातामा बसेकामध्ये २ प्रतिशतलाई मात्र पूँजी बजारबारे चेतना भएकोमा आश्चर्य मान्दै नेतृत्वमा चेतना नभएकोमा उनीहरुलाई काउन्सेलिङ्ग आवश्यक रहेको अर्याल सुझाउँछन् ।
राज्यलाई पूँजीबजारबाट अथाह फाइदा हुने भन्दै यो क्षेत्रलाई समेत संरक्षणको आवश्यकता औंल्याए । ‘भारतमा इण्डेक्स झर्दा जिम्मेवारी बहन गर्दै मन्त्रीले जवाफ दिनुपर्छ, तर यहाँका मन्त्रीले जिम्मेवारी लिने परिपाटी नै छैन।’उनले भने–‘सरकारले कर मात्र लिने कि संरक्षण पनि गर्ने ?’
नेपालको प्राथमिक बजार अन्तर्राष्ट्रियस्तरको भइरहँदा त्यस्तै सुविधा दोस्रो बजारमा उपलब्ध हुन आवश्यक रहेको र यसका लागि चाँडै इन्ट्राडे कारोबारको व्यवस्था कार्यान्वयनमा ल्याइनुपर्ने उनको माग छ ।
२०७५ साल इतिहासमा सबैभन्दा बढी सेयर बजारका विषयमा छलफलको वर्ष रहेको र अर्थमन्त्रीबाट गठित उच्चस्तरीय कार्यदलले पूँजी तथा मुद्रा बजार सुधारका लागि दिएको ५८ बुँदे सुझाव प्रतिवेदन ऐतिहासिक दस्तावेज रहेको अर्यालको ठम्याइ छ । यो कार्यदलमा अर्यालको समेत आमन्त्रित सदस्यको रुपमा सहभागिता थियो ।
नेप्से इण्डेक्स घट्ने वा बढ्ने भनेर जसले फलाक्दै हिँड्छ त्यो मिथ्या र फगत कुरा भएको बताउँदै अर्यालले पाउनसक्ने प्रतिफल, पैसाको मूल्यको सही उपयोग जस्ता विषय हेरी कसैको लहैलहैमा नलागी चनाखोपूर्वक लगानीको निर्णय बुझेर मात्र गर्न नयाँ लगानीकर्तालाई सुझाए ।
सेयर बजारमा सक्सेस टिप्सका रुपमा भाग्य, अध्ययन र धैर्यतालाई जोड दिएका उनले देशको प्रचूर सम्भावना रहेको कृषि र पर्यटनबाट आर्थिक गतिविधिलाई चलायमान बनाएर अघि बढ्नुपर्ने सुझाए ।
पूँजीबजारको प्रमुख नियामक अर्थमन्त्रालयले सेबोन र नेप्सेलाई चलायमान बनाउनु जरुरी रहेको टिप्पणी गर्दै उनले लगानीकर्तासामु राज्यले प्रत्यक्ष भेटेर गुनासा र अप्ठ्यारा पाटाहरु बुझ्ने कोशिस गर्नुपर्ने बताए । ‘हामीले राज्यलाई कर तिर्र्छाै, तर राज्यको उपस्थिति सेयर बजारको विकास तथा विस्तारका लागि न्यून छ । सेयर बजारका लगानीकर्तालाई राज्यले बेवास्ता गरिरहेको छ । यस्तो प्रवृतिले बजारको विकास मात्र होइन, लगानीकर्ताको मनोबल पनि माथि उठ्दैन । स्वदेशी लगानीकर्तालाई नै उत्साहित बनाउन नसक्ने राज्यले कुन आधारमा विदेशी लगानीकर्तालाई लगानीका लागि आश्वस्त पार्न सक्ला र ?’ उनले थपे ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago