काठमाण्डौ । उद्योग प्रभावित स्थानीयका लागि सोनापुर मिनरल्स एन्ड आयलले जारी गरेको आईपीओ भर्ने आज भदौ २६ गते अन्तिम दिन रहेको छ। 

कम्पनीले गत साउन २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित स्थानीयका लागि प्रिमियममा आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा स्थानीय आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने भदौ ११ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। 

कम्पनीले स्थानीयका लागि अंकित मूल्य १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता जारी गरेको छ। जुन जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ५ प्रतिशतबराबरको हो। 

यो आईपीओमा उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीयले खरिद आवेदन दिन सक्नेछन्। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। 

स्थानीयले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, कुमारी बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका स्थानीय शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

सोनापुर मिनरल्सको आईपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।