काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओ आउँदो बुधबार (असोज २४ गते) बाँडफाँट हुने भएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनआईबिएम एस क्यापिटलले सोनापुर मिनरल्सको आईपीओ बाँडफाँटको मिति टुंगो लगाएको हो। ‘यद्यपि बाँडफाँटको समय र स्थान भने टुंगो लागेको छैन’, क्यापिटलका एक अधिकारीले भने, ‘सोनापुर मिनरल्सका अधिकारीहरुसँग छलफल गरी १–२ दिनमा समय र स्थान पनि टुंगो लगाउँछौँ।’ 

ती अधिकारीका अनुसार आज सोनापुर मिनरल्सको प्रि–अलटमेन्टको काम सकिएको छ। 

कम्पनीले गत असोज १४ गतेदेखि असोज १७ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थपेर कुल २३७.५८ रुपैयाँ प्रतिकित्ताको दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर निष्कासन गरेको थियो। निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा ९ लाख ८६ हजार ७५० आवेदकले १ करोड १७ लाख ५२ हजार २९० कित्ता खरिदका लागि आवेदन दिएका छन्। 

प्रि–अलटमेन्टपछि आवेदनको तथ्यांकमा केही हेरफेर हुन सक्छ। यस हिसाबले अधिकांश आवेदकले यो आईपीओमा १० कित्ताका दरले सेयर पाउने सम्भावना रहेको छ। 

निष्कासनको अन्तिम दिनसम्मको तथ्यांकबमोजिम मागभन्दा बढी आवेदन परेकोले यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने देखिन्छ। जसमा भाग्यमानी ९ लाख ७३ हजार २५४ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये ४ जनाले थप १–१ कित्ता सेयर पाउने देखिन्छ।