– अर्जुन तिमिल्सिना
काठमाण्डौ । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निकै रस्साकस्सी चलेको छ।
यही पुस २२ गते (शुक्रबार)बाट एसोसिएसनको २८ औँ वार्षिक साधारणसभा सुरु हुँदैछ। याक यन्ड यती होटेलमा शुक्रबार दिउँसो २ बजेबाट बन्दसत्र हुनेछ भने शनिबार नेतृत्व चयनको कार्यतालिका राखिएको छ।
एसोसियसनमा ५० वटा ब्रोकर आबद्ध छन्। हाल एसोसिएसनको अध्यक्ष सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३५)का सञ्चालक सन्तोष मैनाली छन्।
एसोसिएनको अध्यक्ष बन्न हालका पदाधिकारीहरुभित्रैबाट आकांक्षी रहेको देखिन्छ। अध्यक्षका आकांक्षी दुईजना देखिएपछि सकेसम्म सर्वसम्मतिको प्रयास भइरहेको ब्रोकर सञ्चालकहरु बताउँछन्।
हालका उपाध्यक्ष धर्मराज थापा र महासचिव गुणनिधि भुसाल अध्यक्ष बन्ने दौडमा रहेका हुन्। थापा स्वर्णलक्ष्मी सेक्युरिटिज (स्टक ब्रोकर नं. ३७)का सञ्चालक हुन् भने भुसाल आर्यतार सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७)का सञ्चालक हुन्।
त्यसो त भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)का सञ्चालक राजकुमार तिमिल्सिना पनि सर्वसम्मति भए आफू नेतृत्व सम्हाल्न तयार रहेको बताउँछन्। ‘मलाई पनि साथीभाइहरुले फोन गरिरहेका छन्, सर्वसम्मति भए म पनि नेतृत्व लिन तयार छु’, उनले भने, ‘तर, म चुनावी प्रतिस्पर्धामा भने जाँदिनँ।’
बजारमा एसोसिएसनको अध्यक्षमा पुनः सन्तोष मैनाली दोहोरिने चर्चा पनि चलेको छ। तर, मैनाली भने फेरि अध्यक्ष बन्ने मुडमा देखिँदैनन्। ‘पुनः दोहोरिएर म अध्यक्ष हुनुभन्दा नयाँ साथीहरुलाई नै जिम्मेवारी दिन उपयुक्त हुन्छ’, मैनालीले भने।
एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले सकभर सर्वसम्मतिबाट अध्यक्ष चयन गर्ने प्रयास भइरहेको बताए। ‘हेरौँ शनिबारसम्म के हुन्छ ?’, उनले भने, ‘सहमति नभएमा चुनावबाट अध्यक्ष चयन गरिनेछ।’
एसोसिएसनका अर्का पूर्वअध्यक्ष नरेन्द्र सिजापतीले पनि सर्वसम्मतिमै नयाँ नेतृत्व चयन हुने दाबी गरे। ‘हामीले साथीभाइहरुलाई एकैठाउँमा राखेर छलफल गर्छौं’, उनले भने, ‘हाम्रो छलफल इस्युमा केन्द्रित हुन्छ, व्यक्तिमा हुँदैन।’
ब्रोकरहरुका समस्या र इस्युलाई समाधान गर्न सक्ने तथा यो पेसालाई व्यवस्थित र मर्यादित बनाउन सक्ने साथीलाई सर्वसम्मतिमा नेतृत्वको जिम्मेवारी दिनुपर्ने सिजापतीको भनाइ छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19