काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका लिएको आवेदनमा चरम लापरबाही गरेको खुलासा भएको छ।
सेबोनले नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि आज वैशाख १० गतेसम्म आवेदन खुला गरेको थियो। जसअनुसार कार्यालय समयसम्म नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि ३ वटा कम्पनी र कमोडिटिज एक्सचेन्जका लागि ४ वटा आवेदन परेका छन्।
नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ।
यसैगरी कमोडिटिज एक्सचेन्जको लाइसेन्सका लागि म्याक्स नेपाल, मल्टी डेरिभेटिभ, हिमालयन कमोडिटी र नेपाल मल्टी कमोडिटीको आवेदन परेको छ।
व्यापारिक लाइसेन्स वितरणका आवेदन लिने प्रक्रिया सकिँदा सेबोनबाट चरम लापरबाही भएको खुलासा भएको हो। सेबोनले एउटै नाम गरेका २ वटा कम्पनीको स्टक एक्सचेन्जका लागि आवेदन लिएको खुलेको छ।
यसअघि २०६६ सालमा पनि सेबोनले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुला गरेको थियो। २०६६ मंसिर १५ गते १७ वटा कम्पनी मिलेर ‘हिमालयन स्टक एक्सचेन्ज’को नामबाट सेबोनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिन आवेदन दिएका थिए।
अहिले फेरि ‘हिमालयन स्टक एक्सचेन्ज’ नामक कम्पनीबाट सेबोनमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिन आवेदन परेको छ। तर, यो कम्पनीले पहिलेकै ग्रुपबाट दर्ता गरिएको कम्पनी भने होइन।
२०६६ सालमा आवेदन दिएको हिमालयन स्टक एक्सचेन्जका सञ्चालकहरुमध्येका एक रमेशकुमार भट्टराई एउटै नाममा सेबोनमा आवेदन परेकोमा आश्चर्य व्यक्त गरे। ‘त्यतिबेला हामी १७ वटा कम्पनी मिलेर हिमालयन स्टक एक्सचेन्जको नाममा सेबोनमा तोकेको सम्पूर्ण कागजात र २५ हजार रुपैयाँ धरौटीसहित कानुनी रुपमा सेबोनमा आवेदन दिएका थियौँँ’, त्यतिबेला कम्पनीको अध्यक्षको हैसियतमा रहेका भट्टराईले भने, ‘तर, अहिले हाम्रो निवेदनको कारबाही नटुंग्याई वा धरौटी फिर्ता गरी दर्ता रद्द नगरी सोही नाममा कसरी आवेदन लिइयो ?’
भट्टराईले सेबोनले कानुन मिच्ने काम गरेको बताए। ‘देशमा कानुन छ, अदालत छ’, उनले भने, ‘अलिकति विचार गर्नुपर्ने होइन र भन्या ?’
भट्टराईका अनुसार त्यतिबेला आवेदन दिएपछि सेबोनले बीच–बीचमा पत्राचार पनि गरेको थियो। ‘तर, अहिले हाम्रो आवेदनको टुंगो नलगाई त्यही नाम गरेको अर्को कम्पनीको आवेदन दर्ता गरेको छ’, उनले भने।
अहिले नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेन्ज कम्पनी रजिस्ट्रारको कार्यालयमा भने दर्ता भइनसकेको भट्टराई बताउँछन्। किनकि राष्ट्र बैंक, बीमा प्राधिकरण, सेबोनजस्ता निकायबाट लाइसेन्स लिने कम्पनीले सैद्धान्तिक सहमति पाएपछि मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनीका रुपमा दर्ता हुन जाने भट्टराईको भनाइ छ। ‘त्यसैले त्यो कम्पनी पनि नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सेबोनबाट सैद्धान्तिक सहमति पाएपछि मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुन जाने हो’, उनले भने, ‘अहिले त केही समूह मिलेर एउटा नाम जुराएर सेबोनमा स्टक एक्सचेन्ज सञ्चालनका लागि लाइसेन्स लिन आवेदनमात्रै दिएका हुन्।’
यसरी एकै किसिमको प्रयोजनका लागि एउटै नाम गरेको कम्पनीको सेबोनले आवेदन लिनु सरासर लापरबाही र गलत काम भएको भट्टराई बताउँछन्। ‘सेबोनले हामीलाई तपाइँहरुको प्रक्रिया रद्द भयो भनेर धरौटी फिर्ता गरेको भए फेरि त्यही नाममा अर्को कम्पनीको आवेदन दर्ता गरेको कानुनसम्मत हुन्थ्यो होला’, उनले भने, ‘तर, सेबोनले पहिलेको आवेदन रद्द नगरी फेरि त्यही नामबाट अर्कै समूहको कम्पनीको आवेदन लिन सरासर गलत हो, यो कानुनीविपरीत छ।’
यसअघिको व्यवस्थाअनुसार स्टक एक्सचेन्जमा धितोपत्र बोर्डमा सूचीकृत कम्पनी र स्टक ब्रोकर कम्पनीहरुमात्रै लगानीकर्ता हुन पाउने व्यवस्था थियो। तर, अहिले सेबोनले त्यो व्यवस्थामा संशोधन गर्दै कुनै एक व्यक्तिले स्थापना गरेको कम्पनीले पनि स्टक एक्सचेन्ज सञ्चालन गर्न पाउने प्रावधान ल्याइएको छ।
सेबोनमा हाल आवेदन दिएको हिमालयन स्टकमा हिमालयन रि–इन्स्योरेन्सका लगानीकर्ताहरुको नै मुख्य लगानी रहेको छ। यसमा शंकर ग्रुपका शंकरलाल अग्रवालसँगै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, महासंघका पूर्वअध्यक्षहरु पशुपति मुरारका, भवानी राणाका साथै खेतान ग्रुपका राजेन्द्र खेतान, लक्की ग्रुपका सतिशलाल मोर, दुगड ग्रुपका विवेक दुगर, ज्योति समूहका शौरभ ज्योतिलगायतका ठूला व्यापारी र व्यावसायिक घरानाको लगानी रहेको छ। यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago