काठमाण्डौ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ हजार बढीले उम्मेदवारी दिएका छन्। 

निर्वाचन आयोगका अनुसार देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ४८ हजार बढी उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। साँझ ५ बजेसम्म लाइनमा बसेकाहरुले उम्मेदवारी दर्ता गराउने पाउने भएकाले उम्मदेवार अझै बढ्न सक्ने आयोगले जनाएको छ। 

देशभर महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी २९३ नगरपालिका छन्। यी नगरपालिकामा मेयरका १ हजार ६५० जना र उपमेयरका लागि ९७२ जनाले उम्मेदवारी दिएका छन्। 

यसैगरी देशभर कुल ४५० गाउँपालिका छन्। जसमा अध्यक्ष पदका लागि १ हजार ६०० जनाले र उपाध्यक्षका लागि १ हजार ५० जनाले उम्मेदवारी दिएका छन्। 

देशभरका कुल ६ हजार ७४३ वडामा वडाध्यक्ष पदमा १२ हजार १५१ जना, महिला सदस्य पदमा ७५९९, महिला दलित सदस्य पदमा ६६३७ र सदस्य पदमा १६ हजार ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।