–अनन्त्य सुन्दर

काठमाण्डौ । देशभर नै आज स्थानीय तहको निर्वाचन एकै चरणमा मतदान प्रक्रिया सुरु भएको छ। 

देशभरका कुल १० हजार ७५६ मतदानस्थलमा रहेका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो। मतदान कार्य आज अपराह्न ५ बजेसम्म जारी रहनेछ।

आज सार्वजनिक बिदा र बजार पनि बन्द भएसँगै लगानीकर्ताको संघसंगठनका अगुवाहरु पनि चुनावमा होमिएका छन्। केही लगानीकर्ताका अगुवाले भने बिहानै मतदान गरिसकेका छन्। 

स्थानीय निकायको चुनावको मुलुक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले आमनागरिकले चुनावमा भाग लिएर योग्य, सक्षम र इमान्दार प्रतिनिधिलाई मतदान गर्नुपर्ने बताउँछन्।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले काठमाण्डौको टोखा नगरपालिका–५ बाट बिहान साढे ७ बजे नै मतदान गरेको बताए। ‘आमनागरिकलाई चुनावको भरपुर सदुपयोग गर्नुपर्छ’, ढकाल भन्छन्, ‘नागरिकले आफ्नो अमूल्य मत दिएर सक्षम र योग्य व्यक्तिलाई चुनेर पठाउनुपर्छ।’

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल कुमारी मन्दिर मन्ढीकाटारबाट बेलुका ३–४ बजे तिर मतदान गर्ने बताइन्। ‘हामीले पुँजीबजारविरोधीलाई नो भोट अभियान पनि चलाएका थियौँ’, पोख्रेल भन्छिन्, ‘अहिले नागरिकले आफ्नो मत अधिकार प्रयोग गरी योग्य उम्मेदवारलाई मतदान गर्ने अवसर आएको छ। त्यसैले मतदान गर्दा हाम्रालाई भन्दा पनि विकास गर्ने योजना भएको र सक्षम राम्रा प्रतिनिधिलाई भोट गर्नुपर्छ।’

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोलाले बिहान नै भक्तपुर चाँगुनारायणबाट मतदान गरेको बताए। स्थानीय निकायका प्रतिनिधिले जनतासँग प्रत्यक्ष सरोकार राख्नुका साथै जनतासँग उठबस गर्ने भएकाले सक्षम र योग्य प्रतिनिधिलाई मतदान गर्नुपर्ने बताउँछन्।

नागरिकले जनताको पिर मर्का सुन्ने, विकासका कार्य योजना भएका जनप्रतिनिधिलाई मतदान गर्नुपर्ने बास्तोलाको भनाइ छ। ‘राजनीति, व्यक्ति बिर्सेर कसैको प्रभाव र दबाबमा नपरी स्वच्छ र इमान्दारको व्यक्तिलाई मतदान गर्नुपर्छ’, उनले भने, ‘नागरिकले मतदान गर्दा अबको ५ वर्षसम्म ढुक्क हुन् सकिने प्रतिनिधिलाई छनौट गरी मतदान गर्नुपर्छ।’

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी बानेश्वरस्थित रत्न राज्य मतदान केन्द्रमा नेपाली कांग्रेसको बुथ प्रतिनिधि रहेको बताइन्। अहिले मतदान स्थलमा भीड भएकाले बेलुका मतदान गर्ने उल्लेख गर्दै तिवारी भन्छिन्, ‘नागरिकले आफ्नो अमूल्य मताधिकार प्रयोग गरी मतदानमा भाग लिनुपर्छ।’