– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सरकारले स्थानीय निर्वाचन आउँदो वैशाख ३० गते एकैचरणमा गर्ने निर्णय गरेको छ। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३० मा स्थानीय निर्वाचन गर्ने निर्णय गरेको हो। योसँगै सेयर बजारका लगानीकर्ताहरुमा उत्साह सिर्जना भएको छ। 

सेयर बजारका लगानीकर्ताहरुले सरकारको यो निर्णयलाई स्वागत गरेका छन्। उनीहरुले चुनावको मिति घोषणा भएसँगै अब सेयर बजारमा चमक आउने बताएका छन्।

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार चुनावको घोषणासँगै राजनीतिक अन्यौलता हटेको बताउँछन्। ‘चुनावलाई लिएर धेरै अन्यौलता थियो, जसका कारण धेरै लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका थिए’, उनले भने, ‘अन्यौलता हटेको छ, अब सेयर बजारमा सकारात्मक महौल बन्नेछ।’

चुनावी महौल तातेसँगै खर्च बढ्दै जाने रौनियारको भनाइ छ। ‘यसले बैंकिङ प्रणालीमा तरलता बढ्छ’, उनले भने, ‘यसले ब्याजदर कम घट्न सक्छ र सेयर बजारमा सकारात्मक प्रभाव पर्छ।’

चुनावको मिति घोषणा भएकोले लगानीकर्ताको मनोबल पनि बढ्ने रौनियारको तर्क छ। ‘अब बजारले आफ्नो बाटोमा चल्छ’, उनले भने।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि चुनावको मिति घोषणा भएकोले अब लगानीकर्ताको मनोबल बढ्ने र सेयर बजारमा सकारात्मक महौल बन्ने बताउँछिन्। ‘अब सरकारको खर्च बढ्छ, यसले तरलता पनि सहज हुन्छ’, उनले भनिन्, ‘जसको प्रत्यक्ष सकारात्मक प्रभाव सेयर बजारमै पर्ने हो।’

चुनावी वर्षमा बजार जहिले पनि बढ्ने गरेको उल्लेख गर्दै पोखरेलले भनिन्, ‘यसपालि पनि बजार अगाडि नै बढ्छ।’

पोखरेलले लगानीकर्ताहरुलाई सुझाव दिँदै भनिन्, ‘यद्यपि बजारमा सचेत र अध्ययन गरेर लगानी गर्नु नै उचित हुन्छ।’

बजार जानकार एवं सक्रिय लगानीकर्ता प्रेम ओली पनि सेयर बजार अब केही महिना सकारात्मक रहने बताउँछन्। ‘स्थानीय चु्नावी महौल सुरु भएसँगै अब बजारले गति लिन्छ’, उनले भने, ‘स्थानीय तहको चुनाव सकिएपछि फेरि प्रतिनिधिसभाको चुनाव हुन्छ, त्यसैले बजार अब ५–७ महिना सकारात्मक नै रहने देखिन्छ।’

चुनावको घोषणासँगै खर्च पनि बढ्ने भएकोले तरलता सहजै बन्ने ओलीको भनाइ छ। ‘पहिलेको रेकर्ड ब्रेक गर्न केही समय लाग्ला तर बजार भने सकारात्मक ढंगले अगाडि बढ्छ’, उनले भने।