काठमाण्डौ । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तय गरिएको छ। निर्वाचनको चहलपहल स्थानीयस्तरमा सुरु भइसकेको छ। 

निर्वाचनको मिति नजिकिँदै जाँदा ‘स्थानीय सरकारका लागि स्वतन्त्र उम्मेदवारी’ अभियान सुरु भएको छ। यस अभियानको आज राजधानीमा सडकमै पत्रकार सम्मेलन गरी घोषणा गरिएको छ। 

‘अबको स्थानीय सरकार, ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेदवार’ मुख्य नारासहित यो अभियानको सुरुआत गरिएको छ। यस अभियानमार्फत हालसम्म १ हजार ९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। जसअन्तर्गत प्रदेश १ मा ३४७ जना, मधेश प्रदेशमा ३०९ जना, बागमती प्रदेशमा ३६४ जना, गण्डकी प्रदेशमा २८६ जना, लुम्बिनी प्रदेशमा २६५ जना, कर्णाली प्रदेशमा १८८ जना र सुदूरपश्चिम प्रदेशमा २३९ जनाले उम्मेदवारी घोषणा गरेका छन्। 

यस अभियानमार्फत देशभरबाट हालसम्म कुल ४ हजार ६५७ जनाले उम्मेदवार हुने इच्छासहितको फाराम भरेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

यो अभियानको मुख्य उद्देश्य स्थानीय तह दलीय राजीतिमुक्त हुनुपर्छ भन्ने रहेको छ। त्यसैले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन तयार स्वच्छ छवि, नैतिक र इमान्दार जोकोही पनि यो अभियानमा जोडिन सक्ने बताइएको छ। 

स्थानीय तह भ्रष्टाचारमुक्त हुनुपर्ने, जनताका दैनिक आवश्यकता पूरा गर्नुपर्ने, विकासका अजेन्डालाई प्राथमिकता दिनुपर्ने र घरदैलोको सरकार हरक्षण जनताकै सेवामा समर्पित हुनुपर्ने अभियानको मुख्य उद्देश्य रहेको छ। त्यसका लागि स्थानीय सरकार दलभन्दा माथि उठ्नुपर्ने आवश्यक रहेको अभियानको ठहर छ। 

अभियानले यसअघि ६३ जना विज्ञलाई विभिन्न ११ प्रश्न सोधेको थियो। विज्ञहरुले पनि स्थानीय सरकारलाई दलीय रुपमा मुक्त गर्नुपर्ने जबाफ दिएका थिए। जनताको घरदैलोसँग जोडिएको सरकार भएकोले जनप्रतिनिधि दलमुक्त हुनुपर्ने उनीहरुको धारणा थियो।

चुनावमा खर्च सीमित गर्नुपर्ने र खर्चविना नै चुनाव गर्न सकिन्छ भन्ने सांकेतिक विरोधस्वरुप सडकमै पत्रकार सम्मेलन गरेको अभियानले जनाएको छ। 

अभियानले कसरी काम गर्छ ?

अभियानले तीन तहमार्फत आफ्ना अजेन्डा जनतासमक्ष लैजानेछ। पहिलो तहमा मेन्टर वा सल्लाहकार रहनेछन्। यसमा स्थानीय सरकार सञ्चालन, पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रका विज्ञ रहनेछन्।

दोस्रो तहमा कार्यकारी समिति रहनेछ। यसले उम्मेदवार र अन्य आवश्यक संयन्त्र जस्तै– संघसंस्था, सञ्चारमाध्यमबीच पुल बनेर व्यवस्थापनको काम गर्नेछ।

तेस्रो तहमा कर्मचारी र स्वयंसेवकहरु रहनेछन्। यो तहमा रहनेले विभिनन तहसँग सम्पर्क, समन्वय गर्ने, कामको डिजाइन र कार्यान्वयनमा लैजान सघाउनेछ।