काठमाण्डौ । स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा मागभन्दा ३३ गुणा बढी आवेदन परेको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार यो कम्पनीले आइतबारदेखि निश्कासन गरेको आइपीओमा अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म ८३ लाख २७ हजार ६३० कित्ता खरीदका लागि आवेदन परेको हो। 

कम्पनीले सर्वसाधारणका लागि २ लाख ५२ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । जसमा करिब ३ लाख ३ हजार ४४ जनाले आवेदन दिएका छन् । 

यो कम्पनीले कुल २ लाख ६९ हजार ६३० कित्ता आइपीओ निश्कासन गरेको हो, जसमध्ये ०.५ प्रतिशतले हुन आउने ४ हजार १४८ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १३ हजार ४८२ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको २ लाख ५२ हजार सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

इच्छुकले न्यूनतम १० देखि अधिकतम १३४० कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

यो कम्पनीले यसअघि २ लाख ४० हजार कित्ता आइपीओ निश्कासनको योजना बनाए पनि धितोपत्र बोर्डको निर्देशनपछि कित्तामा संसोधन गरेको थियो ।

आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी बढेर ८ करोड २९ लाख पुग्नेछ । यस्तै, कम्पनीका सर्वसाधारणको सेयर स्वामित्व ३२.५ प्रतिशत र प्रोमोटरको ६२.५ प्रतिशत कायम हुनेछ ।

तीन करोड भन्दा कम मूल्यको आइपीओलाई क्रेडिट रेटिङ गराउनु नपर्ने व्यवस्था छ । 

माइक्रोफाइनान्स कम्पनीको सेयर भएकोले आइपीओमा सर्वसाधारणको मरिहत्ते देखिएको छ । 

यो माइक्रोफाइनान्स कम्पनीले हाल १० जिल्लाका १५ शाखाबाट आफ्नो कारोबार संचालन गरिरहेको छ ।