काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्पर्स लघुवित्त वित्तीय संस्था र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका सेयरमूल्य बिहीबार समायोजन गरेको छ ।

नेप्सेले स्पर्स लघुवित्तको १३ प्रतिशत र अरुण भ्यालीको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले सेयरमूल्य समायोजन गर्दै स्पर्स लघुवित्तको प्रतिकित्ता ५४९.५६ रुपैयाँ र अरुण भ्यालीको प्रतिकित्तिा ९१.५९ रुपैयाँ कायम गरेको छ । अब दुवै कम्पनीको समायोजित मूल्यअनुसार नै कारोबार खुला हुनेछ ।

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

संस्थाले चुक्तापुँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँको १३ प्रतिशतले हुन आउने १ करोड ७ लाख ८५ हजार १९० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै बोनस सेयर वितरण गर्दा पर्ने कर प्रयोजनाका लागि संस्थाले चुक्तापुँजीको ०.६८ प्रतिशत अर्थात ५ लाख ७६ हजार ६४२ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव पनि संस्थाले गरेको छ ।

प्रस्तावित लाभांश संस्थाको यही पुस २७ गते हुने तेस्रो वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ ।

यसैगरी अरुण भ्यालीले आफ्नो २२ औँ वार्षिक साधारणसभा यही पुस २३ गते गर्दैछ । सभाले गत वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश सभामा छलफल भई अनुमोदन गर्नेछ । 

साधारणसभा र लाभांश प्रयोजनका लागि यी दुवै कम्पनीले आज (पुस १० गते) देखि बुक क्लोज गरेका छन् । यसको मतलब पुस ९ गतेसम्म कायम सेयरधनीहरुमात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।