काठमाण्डौ । कोरोनाभाइरसबाट अत्यन्त प्रभावितमध्येको एउटा देश स्पेनमा गएको २४ घन्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको छ।

स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आइतबार स्पेनमा २८८ को मृत्यु भएको छ। जुन गत मार्च २० यताकै सबैभन्दा कम हो। स्पेनमा शनिबार ३७८ जनाको मृत्यु भएको थियो। हालसम्म २३ हजार १९० जनाको मृत्यु भइसकेको जनाएको छ।

बीबीसीका अनुसार अधिकारीहरूले कोरोनाभाइरस महामारी फैलिएयता पहिलो पटक स्पेनमा एकैदिन ३ सयभन्दा कमको मृत्यु हुनुले भाइरस नियन्त्रण सकारात्मक दिशातर्फ गइरहेको देखाएको बताएका छन् । ६ सातापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिएपछि आइतबार स्पेनमा बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका छन्।

लकडाउनलाई खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्ममा एक घन्टाका लागि घर बाहिर जान अनुमति दिएको छ।

गत मार्च १४ देखि उनीहरूले घरबाट बाहिर निस्कन पाएका थिएनन्। यद्यपि अझै पनि कतिपय प्रतिबन्धहरू जारी नै छन्।

बालबालिकालाई सार्वजनिक पार्क तथा घरभन्दा एक किलोमिटर पर जान भने रोक लगाइएको छ। कतिपय अभिभावकले विशेषगरी सुपरमार्केटजस्ता सङ्क्रमणको खतरा धेरै रहेको स्थानमा बालबालिकालाई पठाउन चाहेका छैनन्।

यसैबीच इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लकडाउनलाई खुकुलो पार्ने क्रम सुरू गरिने बताएका छन्। टेलिभिजन सम्बोधनमा उनले मे ४ देखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने बताए।

बीबीसीका अनुसार प्रधानमन्त्री जुजेपेका अनुसार मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउनेछन्। पार्कहरू खोलिनेछन् तर विद्यालयहरूले सेप्टेम्बरसम्म कक्षा सुरु गर्ने छैनन्।

इटलीले विश्वकै सबैभन्दा लामो लकडाउन सामना गरेको छ भने युरोपेली देशहरूमा सबैभन्दा धेरैको मृत्यु इटलीमै भएको छ। इटलीमा अमेरिकापश्चात् सबैभन्दा धेरै २६ हजार ६४४ जनाको मृत्यु भएको छ। तर हाल त्यहाँ लगातार मृतकको सङ्ख्यामा कमी आइरहेको छ।