काठमाण्डौ । प्रभु पेले स्मार्टफोन नहुने विपन्न वर्गलाई लक्षित गरी मोवाइल वालेट सुविधा संचालनमा ल्याएको छ । 

यस अन्तरगत (१२३४ अंकमा लेखिएका र एबीसीडी  लेखिएका) बारफोनबाट प्रभु पेको सुविधा प्रयोग गर्न सकिन्छ । 

उक्त सेवा युएसएसडीमार्फत मोवाइल रिचार्ज, टेलिफोन बिल भुक्तानी, टेलिभिजन बिल भुक्तानी तथा इन्टरनेट लगायतका बिल भुक्तानी घर बसी बसी गर्न सकिन्छ । यसबाट रेमिट्यान्स भुक्तानीको सुविधा समेत प्रयोग गर्न सकिनेछ । 

विशेषगरी स्मार्ट फोन नहुने विपन्न बर्गले अब आफ्नो सामान्य मोवाइल ‘बारफोन’बाट यो सेवा संचालन गर्न सक्नेछन् । 

कोरोना संक्रमणको सन्त्रासका बीच देशमा जारी लकडाउनको अबस्थामा मोवाइल वालेटबाटै सम्पूर्ण बैंकिङ कार्यहरु भइरहेको अबस्थामा बारफोन प्रयोगकर्ताहरु सोबाट बञ्चित भइरहेकोले यो समयमा प्रभु पेको नयाँ सुविधा महत्वपूर्ण हुनसक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रदेश नं. ७ लगायत सुदुरपश्चिममा सरकारले समेत कोरोना संक्रमणको उच्च जोखिममा राखेको अबस्थामा स्मार्टफोन पनि नहुने र हिँडडुल गर्न पनि नपाउने अवस्थालाई लक्षित गरी एनसेलसँगको सहकार्यमा प्रभु पेले यस्तो सुविधा ल्याएको हो । जसबाट म्यासेजहरु आदानप्रदान गर्दा शुल्क लाग्ने छैन । 

यो सेवा ग्रामीण क्षेत्रलाई  वित्तीय पहुँच पुर्याउनका साथै टाढाटाढा घर भएर नगद कारोबार गर्न नसक्ने व्यक्तिका लागि अति प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रयोग गर्ने तरीका 
एनसेलको सिम भएका साधारण फोन प्रयोगकर्ताले rg सहित कम्तिमा ४ डिजिटको आफूले रोजेको नम्बर (जसलाइ mpin भनिन्छ)  लेखी ३१०४१ मा एसएमएस गर्नुपर्ने हुन्छ । त्यसपछि प्रयोगकर्ताको एनसेल नम्बर प्रभु–पेमा रजिष्टर्ड हुन्छ । अब प्रयोगकर्ताले *31041*mpin#  थिचेपछि बिभिन्न सुबिधाहरु मोबाइलमा देखिन्छ र हातैबाट सम्पूर्ण सुबिधा प्रयोग गर्न सक्नेछन् । प्रयोगकर्ताहरुले मोबाइलको स्क्रिनमा देखिएको नम्बर थिच्दै आफूलाई चाहिएको सुबिधा खोजेर कारोबार गर्न सक्नेछन् ।