काठमाण्डौ । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले बैशाख २७ गतेदेखि आइपीओ निश्कासन गर्ने भएको छ । 

यो कम्पनीले कुल १ लाख ९८ हजार ६१० कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्न लागेको हो। 

आइपीओमा छिटोमा बैशाख ३१ गतेभित्र र ढिलोमा जेठ २६ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कुल निश्कासन हुने कित्तामध्ये ३ हजार ९३ कित्ता सो कम्पनीका कर्मचारीका लागि, ९ हजार ९३० म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । 

धितोपत्र बोर्डले चार दिनअघि मात्रै यो कम्पनीलाई आइपीओ निश्कासनको अनुमति दिएको थियो ।

यो कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल मार्केट लिमीटेडले गर्नेछ ।

हाल यो कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ ।

आइपीओपछि कम्पनीको चुक्तापूँजी ६ करोड १८ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्सको मुख्य कार्यालय रुपन्देहीको तिलोत्तमा ६, मणिग्राममा रहेको छ ।