काठमाण्डौ । हकप्रद र बोनस सेयर बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लगाउनुपर्ने पुरानै अडान महालेखापरीक्षकको कार्यालयले यसपटक पनि दोहोर्याएको छ । 

आफ्नो ५६ औं प्रतिवेदनमा महालेखाले गत वर्ष नै हकप्रद र बोनस सेयर बिक्रीमा पूँजीगत लाभकर लगाउन भनिए पनि अवस्था यथावत रहेकोले यो व्यवस्था तत्काल लागू गरी राजश्व असूल्न भनिएको छ । 

प्रतिवेदनमा आयकर ऐन, २०५८ को दफा ९५क(२) मा नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको निकायको हितको निसर्गबाट प्राप्त लाभमा ५ प्रतिशत कर लाग्ने व्यवस्था छ । 

लाभ गणना गर्ने प्रयोजनका लागि बुक क्लोज गर्दाको अन्तिम मूल्यलाई बोनस तथा हकप्रद शेयरको अनुपातले समायोजन गरी औसत गणना गर्दा आउने अङ्कमा पुनः ३ पटकको बजार मूल्यको औसत लिई कायम भएको आधार मूल्यलाई खर्च छुट दिने अर्थ मन्त्रीस्तरबाट २०६५।८।२२ मा निर्णय भएको छ । 

‘यो व्यवस्था पूँजीगत लाभ कर निर्धारण गर्ने अर्को व्यवस्था नभएसम्मका लागि लागू भएको थियो ।’ प्रतिवेदनमा भनिएको छ–‘शेयरको वास्तविक तिरेको लागतलाई आधार नलिई बजार मूल्यको आधारमा समायोजन गर्दा लागत खर्च बढी दाबी हुने गरेको छ । यसरी अङ्कित मूल्यभन्दा बोनस तथा हकप्रद शेयरको वास्तविक लागत बढी समायोजन भई पूँजीगत लाभकर घटी दाखिला भएको छ ।’ 

यस वर्ष रु.१४ अर्ब ८० करोड २१ लाखको हकप्रद र बोनस शेयर बिक्री गरेकोमा यथार्थ लागत रु.२ अर्ब ३० करोड ४४ लाख कट्टा गरी रु.१२ अर्ब ४९ करोड ७६ लाखमा आयकर ऐन, २०५८ को अनुसूची–१(४)ख३ बमोजिम ५ प्रतिशतले हुने कर रु.६२ करोड ४९ लाख असुल हुनुपर्नेमा रु.४ करोड ९० लाख मात्र असुल भएकोले रु.५७ करोड ५९ लाख छुट भएको देखिन्छ । यसरी प्रतिवेदनले पूँजीगत लाभकरमा राज्यले ५७ करोड ५९ लाख रुपैयाँ गुमाउनु परेको भन्दै यसबाट परेको असर यकिन गरी राजश्व असूलीमा ध्यान दिन भनिएको छ ।