काठमाण्डौ । हकप्रद नबिकेर पूँजी वृद्धिको दौडमा रहेका कम्पनीलाई सकस परिरहेको बेला प्रभू इन्स्योरेन्सले पनि त्यही अप्ठ्यारो अवस्था भोग्नुपरेको छ । यो कम्पनीले निश्कासन गरेको हकप्रद समेत सबै बिक्री नभएपछि बिक्री नभएको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो । 

प्रभू इन्स्योरेन्सले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको १ लाख ३७ हजार १६ दशमलव ६३ कित्ता हकप्रद आगामी भदौ १७ गतेदेखि लिलामीमा राख्ने भएको हो । लिलामीमा गोप्य शिलबन्दी दरखास्त दिने समय भदौ २४ गतेलाई तोकिएको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ दर राखेर न्यूनतम १०० कित्तासम्मका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । 

कम्पनीले संस्थापक समूहतर्फको १५ हजार ८ सय ६१.७६ कित्ता र सर्वसाधारण समूहतर्फको १ लाख २१ हजार १ सय ५४.८७ कित्ता सेयर लिलामीमा राख्नेछ । 

लिलामीको प्रक्रिया मिलाउन प्रभू क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । 

यो कम्पनीले असार ८ गतेदेखि साउन १० गतेसम्म चुक्तापूँजीको ४६ प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गरेको थियो । ३० लाख २९ हजार ६ सय ६१ कित्ता हकप्रद बिक्री भए पनि बाँकी रहेको सेयर भने लिलामीमार्फत बिक्री गर्नुपरेको हो ।

आवेदनका लागि प्रभू क्यापिटल कमलादी, प्रभू बैंकका वीरगञ्ज, विरानटगर, बुटवल, पोखरा, वीरेन्द्रनगर, नेपालगञ्ज र धनगढी स्थित शाखा तोकिएको छ । 

हाल यो कम्पनीको दोश्रो बजारमा प्रतिकित्ता ४ सय ७८ रुपैयाँमा कारोबार भइरहेको छ ।