काठमाण्डौ । दुई विकास बैंकसहित ४ कम्पनीले छिट्टै सेयरधनीहरुका लागि हकप्रद निष्कासन गर्ने सुरसार गरिरहेका छन्। 

नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र छ्याङ्दी हाइड्रोपावरले आफ्ना सेयरधनीहरुलका लागि हकप्रद निष्कासन गर्ने तयारी गरिरहेका हुन्। यी कम्पनीले नेपाल धितोपत्र बोर्ड हकप्रद जारीका लागि अनुमति पाइसकेका छन्। 

यी ४ कम्पनीले सेयरधनीहरुका लागि कुल ७९ लाख ३५ हजार ६८ कित्ता हकप्रद जारी गर्नेछ। यीमध्ये नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सले हकप्रद जारी गर्नका लागि बुक क्लोजको मिति पनि तय गरिसकेका छन्। 

नारायणी डेभलपमेन्ट बैंकले आउँदो पुस ७ गतेबाट १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने मिति पनि तय गरिसकेको छ। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गर्नेछ। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिन मिल्छ। 

हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

सेयरधनीहरुले यस हकप्रदमा पुस २७ गतेसम्म आवेदन दिन पाउनेछन्।

नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो।

हकप्रद निष्कासन प्रयोजनार्थ बैंकले गत मंसिर २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको थियो। यसको अर्थ मंसिर २३ गतेसम्म कायम सेयरधनीहरु यो बैंकको हकप्रदमा आवेदन दिन योग्य भएका छन्।

यसैगरी समृद्धि फाइनान्सले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ यही पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस ८ गते (पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्। 

समृद्धि फाइनान्सले २ः१ अनुपातमा हकप्रद निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गर्नेछ। 

हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ। 

यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर २९ गते निष्कासनको अनुमति दिएको थियो। 

यसैगरी नेपाल धितोपत्र बोर्डले गत पुस १ गते छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद निष्कासनको अनुमति दिएको छ। 

सेबोनको अनुमति पाएसँगै छ्याङ्दी हाइड्रोपावरले १०ः३ को अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँबराबरको हकप्रद जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गर्नेछ। 

यो कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

यसैगरी कर्पोरेट डेभलपमेन्ट बैंकले १ः१.५ अनुपातमा ३० करोड रुपैयाँबराबरको हकप्रद निष्कासन गर्नेछ। बैंकले १०० अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गर्नेछ। 

बैंकको यो हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।